२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

रोटरीद्धारा आम्दालाई स्वास्थ्य सामाग्री हस्तान्तरण 

शुक्रवार , आषाढ ११, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • बुटवल, ११ असार । 
    रोटरी क्लब अफ सेन्ट्रल बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लवले बालबालिकाको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरणको साथै विभिन्न खेलौना सामाग्री–सेट रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालको संरक्षणमा रहने गरी अस्पताललाई हस्तान्तरण गरेको हो । 

    शुक्रबार सामग्री हस्तान्तरण कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले क्लबले प्रदान गरेका सामाग्रीले स्वास्थ्य सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे । क्लबले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यन्वाद व्यक्त गर्दै उनले बालबालिका र महिलाको उपचारका लागि पश्चिम क्षेत्रको गहनाका रुपमा रहेको आम्दा अस्पताललाई अझै सुधार गर्दै लैजान उपमहानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले नयाँ उपकरण र जनशक्ति थप गरी आम्दा अस्पतालको स्वास्थ्य सेवालाई बिस्तार गर्न प्रदेश सरकारसँग छलफल भइरहेको जानकारी दिए ।

    रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम भट्टराईले अस्पताललाई थोरै भए पनि स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा खुसी भएको बताए । उनले उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुको उपचारमा केही सहज होस् भन्ने उद्देश्यलाई आम्दालाई छनोट गरी स्वास्थ्य सामग्री हस्तानतरण गरेको बताउँदै यी उपकरणहरुको जतनसाथ प्रयोग गर्न आग्रह गरे ।

    क्लबका अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एजाज आलम, सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा. राजेन्द्र बस्याल, रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालका अध्यक्ष डा. सन्तोष पोखरेल लगायतले बोलेका थिए ।