
शुक्रवार , आषाढ ११, २०७८
भैरहवा, ११ असार ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित श्री बहिरा बाल माध्यमिक विद्यालयलाई सिलाइ मेशिन प्रदान गरेको छ । सीपमूलक तालिम सञ्चालन गर्नका लागि विद्यालयलाई ६ वटा सिलाई मेशिन, १ वटा पिको मेशिन, १ इन्टरलक मेशिन प्र्रदान गरिएको कार्यक्रम संयोजक रुक्मणि करञ्जितले बताए । उक्त सिलाई मेशिन क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शारदा श्रेष्ठलाई हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ नेपालका द्वितीय गभर्नर पीएमजेएफ नवराज न्यौपानेले स्थापनाकालको छोटो अवधिमा क्लबले विभिन्न रचनात्मक कार्यहरु गरेको बताए । कार्यक्रममा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ नेपालका स्ट्राटिजिक चिm एमजेएफ महेशचन्द्र थापा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपक कुमार थापा, श्री बहिरा बाल माध्यमिक विद्यालयका कार्यवाहक अध्यक्ष शारदा श्रेष्ठ, विद्यालयका पूर्व प्राचार्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य खगराज पाण्डे लगायतले बोलेका थिए ।
क्लबका उपाध्यक्ष एवं वर्ष २०२१/२२ का इलेक्ट अध्यक्ष गोविन्द प्रसाद गिरीको स्वागत, सदस्य थानेश्वर पाण्डे (प्रकाश)द्वारा ध्वजा अभिवादन कार्यक्रम संयोजन र सह–सचिव रोशन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
क्लबले दोस्रो लहरको कोरोना महामारीमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) र मिलनचोकमा निःशुल्क खाना वितरण गरेको क्लबका संस्थापक सचिव भीम बहादुर थापाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij