२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

सैनामैना नगरपालिकाद्वारा १ अर्ब २२ करोड बढीको बजेट प्रस्तुत

कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य र शिक्षाको विकास मूख्य प्राथमिकता

बिहिवार , आषाढ १०, २०७८

सैनामैना, १० असार । 
रूपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ लागि १ अर्व २२ करोड १९ लाख ४३ हजार ३४१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सैनामैना नगरपालिका उपप्रमुख विना रानाद्वारा प्रस्तुत गरिएको बजेटमा कोरोना जोखिम नियन्त्रण र न्यूनीकरण गर्ने र अधुरा आयोजना सम्पन्न गर्ने अभियानसहित कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ । 

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ५१ करोड ४८ लाख ५५ हजार विनियोजन भएको छ भने पुँजीगततर्फ ७० करोड ७१ लख २८ हजार ३४१ रुपैया विनियोजन गरिएको छ । 
त्यसै गरी आगामी आर्थिक वर्षका लागि अनमुान गरिएको खर्च व्यहोर्ने श्रोतमध्ये संघीय सरकारबाट अनुदान ९१ करोड ३८ लाख २ हजार, प्रदेश सरकारबाट ६ करोड ४१ लाख ३३ हजार ७ सय ४४, आन्तरिक श्रोतबाट आ.व. २०७७÷७८ बाट मौजदात बाँक रकम सहित २४ करोड ४० लाख ७ हजार ५ सय ६७ रुपैयाँ आम्दानी हुने अनमुान गरिएको छ ।

पुँजीगत खर्चमध्ये वडा नम्बर १ को लागि ७८ लाख ७९ हजार ७ सय ८३, २ को लागि ३८ लाख ३१ हजार ६ सय ४०, ३ को लागि ४१ लाख ३७ हजार ८ सय ४१, ४ को लागि ५१ लाख ३५ हजार ६ सय ९६, ५ को लागि ५४ लाख ७२ हजार ९ सय ३१ र ६ को लागि ६१ लाख ८८ हजार ९ सय ५६ विनियोजन गरिएको छ ।  त्यसै गरी वडा नम्बर ७ को लागि ४१ लाख ३१ हजार ३ सय २७, ८ को लागि ३२ लाख ५३ हजार २ सय ५०, ९ को लागि ५२ लाख २४ हजार ४ सय ७३, १० को लागि ६३ लाख ५९ हजार ७ सय ५५ र ११ को लागि ५३ लाख ८४ हजार ३ सय ४७ गरी जम्मा ५ करोड ७० लाख विनियोजन गरिएको छ । 

प्रस्तुत गरिएको बजेटमा कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १ करोड विनियोजन गरिएको छ भने फोहोरमैला व्यवस्थापन कोषमा ५० लाख विनियोजन गरिएको छ । त्यसै गरी स्वास्थ्य र सरसफाई क्षेत्रको लागि १० करोड ५० लाख ७२ हजार विनियोजन गरिएको छ ।  संस्कृति तथा पर्यटन क्षेत्रमा ६  करोड ४७ लाख छुटयाइएको छ । कृषि तथा पशुविकासतर्फ २ करोड ५६ लाख, १६ हजार रकम विनियोजन भएको छ । 

बजेटमा पर्रोहा परमेश्वर बोलबाध धाम मन्दिर निर्माणका १ करोड २ लाख र लागत साझेदारीसहित कूल ५ करोड ९२ लाख बजेट छुट्टाइएको छ ।  त्यसै गरी डिउहार निर्माण, भडछा महोत्सव, बौद्ध गुम्बा निर्माण, औद्योगिक प्रदर्शनी महो, आदिबासी जनजाति महोत्सव र पार्क निर्माणको लागि ५१ लाख बजेट विनियोजन भएको छ । त्यसैगरी सैनामैनाको पूर्वाधार विकासतर्फ कूल २९ करोड ३३ लाख ४४ हजार रकम विनियोजन भएको छ ।  

पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी मुर्गियामा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधासहितको १५ शैयाको आधारभुत अस्पतालको निर्माण सम्पन्न गर्न ५ करोड बजेट व्यवस्था गरिएको छ । त्यसै गरी कोभिडका कारण भौतिक रुपमा विद्यालयबाट अध्ययन अध्यापन बन्द रहेकोले बैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न १० लाख विनियोजन गरिएको छ । 
ज्येष्ठ नागरिक, अपांग, महिला र बालबालिकाको क्षेत्रमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  

त्यसै गरी एक शिक्षक एक ल्यापटप कार्यक्रम संचालनको लागि ५० लाख विनियोजन गरिएको छ । शिक्षकलाई सूचना प्रविधिमैत्री वनाउको लागि प्रविधिमैत्री दक्ष शिक्षकहरुबाट अन्य शिक्षकहरुमा सीप हस्तान्तरण गर्ने व्यवस्था मिलाउन ९ लाख विनियोजन भएको छ । 

सालझण्डीस्थित वनकट्टी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्न ५ लाख, गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रमको लागि ३ लाख, जेष्ठ नागरिकको घरमा स्वास्थ्य सेवा कार्यक्रमको लागि २ लाख, हेलो आमा कार्यक्रममार्फत जेष्ठ नागरिक, गर्भवती, सुत्केरी आमाहरुलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गर्न १ लाख ५० हजार विनियोजन भएको छ । महिलासंग उपप्रमुख कार्यक्रमबाट महिलाहरूको स्तन क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न स्तन क्यान्सर शिविर र पाठेघरको मुखको क्यान्सर शिविर सञ्चालन गरिने बजेटमा उल्लेख छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको योगदानको उच्च मूल्यांकन गर्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य वीमा गर्न  १ लाख ४२ हजार विनियोजन भएको छ भने महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई थप जिम्मेवार र उत्तरदायी बनाउन कार्यसम्पादनको आधारमा प्रोत्साहन गर्न महिला स्वास्थ्य स्वयंसेविका अक्षय कोषमा १ लाख थप रकम विनियोजन भएको छ । 

हाल सञ्चालनमा रहेका शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थित गराउन १४ लाख ९६ हजार, सरसफाईमा उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गर्ने तथा फोहोरमैला व्यवस्थापन कोषमा  ५० लाख विनियोजन गरिएको छ । स्वास्थ्य र सरसफाई क्षेत्रको लागि कुल रु. १० करोड ५० लाख ७२ हजार विनियोजन भएको छ । सवै विद्यालयहरुलाई एकै किसिमको रंगरोगन गर्न १० लाख विनियोजन भएको छ । विद्यालयमा अध्ययनरत सबै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निःशुल्क उपलव्ध गराउन ३७ लाख ५७ हजार बजेट व्यवस्थापन भएको छ । त्यसै गरी उत्कृष्ट संचारकर्मीलाई सम्मान गर्ने, कर्मचारीलाई प्रोत्साहन दिने, सुशासन कायम गर्न डिजिटल नागरिक बडापत्र जडान गरिने, पत्रकारीतामैत्री नगरपालिका विकास गर्ने बजेटमा उल्लेख गरिएको छ । 

कृषकलाई सहुलियतपूर्ण कर्जा, कृषि सामाग्रीमा अनुदान र सहयोग, कृषकको उत्पादन बजारीकरण गर्ने, सहकारी संस्थाहरुलाई सवलीकरण गर्दै नगरवासी कृषकलाई सहकारीमा आवद्ध गर्ने बजेटमा उल्लेख छ ।