
सोमवार , आषाढ ७, २०७८
गुल्मी, ७ असार ।
गुल्मीको धुर्कोट गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोरोनाका कारण रोजगारी गुमाएर गाउँ फर्किएकाहरुलाई कृषिमा प्रेरित गर्नका लागि विभिन्न अनुदान, तालिम, प्रविधि एवम् कृषि ऋणको ब्याजमा अनुदान दिने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ का लागि आठौँ गाउँसभामा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २५ रोपनी क्षेत्रफल भन्दा बढी जग्गामा हरियो तरकारी उत्पादन गर्ने किसानलाई तीन वर्षसम्म अनुदान व्यवस्था, व्यावसायिक च्याउ खेती, वडा नम्बर १ नयाँगाउँमा सुन्तला नर्सरीको स्थापना तथा प्रत्येक हप्ताको एक बार एउटा वडामा घुम्ती हाटबजार सञ्चालन गरिने जानकारी दिए । नीति तथा कार्यक्रम सर्वसम्मतले आज पारित भएको छ ।
यस्तै गाउँपालिकाको केन्द्र बर्बोटमा औद्योगिक ग्राम स्थापना गरिने भएको छ । परम्परागत आरन, सिलाइकटाइ तथा जुत्तासिलाइ व्यवसायलाई प्रवद्र्धन गर्ने, डोका, नाम्ला, डालालगायत स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादित सामग्रीलाई बजारीकरण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
धुर्कोटमा निर्माणाधीन संग्रहालय यसै वर्ष सम्पन्न गरिने तथा प्रत्येक वडाबाट एक पर्यटकीय क्षेत्र छनोट गरी प्रचारप्रसार गरिने गाउँपालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकालाई आधारित बनाई पत्रकारिता गर्ने पत्रकारलाई विशेष सहयोग गर्ने कार्यक्रम पनि समेटिएको अध्यक्ष पोखरेलले जानकारी दिए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij