
अब चार महिनाभित्रै पूरा हुने
शुक्रवार , भाद्र १२, २०७७
भैरहवा, १२ भदौ ।
भैरहवा–लुम्बिनी कोरिडोरमा बुटवलबाट ल्याउन लागिएको विद्युत प्रसारण लाइन अब चार महिनामा पूरा हुने भएको छ । बुटवल–गोरुसिंगे–लुम्बिनी १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए चार महिनाभित्रै प्रसारण लाइन बन्ने बताएको छ ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक करिडोर लगायतमा विद्युत विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो । चार वर्ष अघिदेखि प्रसारण लाइनको विस्तार थालिए पनि स्थानीयको अवरोधका कारण ढिलाइ भएको हो । हालसम्म आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख हरि प्रसाद पाण्डेले बताए ।
योगीकुटीबाट सबस्टेशन रहेको मैनहियासम्म विद्युत् पु¥याउन ५६ वटा विद्युत पोल गाड्नुपर्छ । अहिलेसम्म ३४ वटा पोलका लागि फाउण्डेसन बनेको छ । अब बाँकी २२ वटाको फाउण्डेशन पनि छिटै बन्ने पाण्डेको भनाइ छ ।
अब सवस्टेशनको बाँकी रहेको काम र ट्रान्समिसनको काम बाँकी रहेको उनले बताए । ‘टावरबाहेक अरु सबै सामान आइसकेको छ, ३४ वटा फाउण्डेशन तयार भएका छन्, बाँकी २२ वटा फाउण्डेशन पनि अब छिटै बन्दैछन्’–उनले भने ।
एक अर्ब २० करोड लागतको यो आयोजना तीन वर्षभित्रमा सक्ने लक्ष्य भए पनि चार वर्षसम्म पूरा हुन सकेको छैन । “विद्युत् विस्तारका लागि जग्गा प्राप्ति र रुट विवादले काम हुन सकेको थिएन, तर अहिले सबै विवाद टुंगिएको छ र बन्दाबन्दीका बीचमा पनि काम निरन्तर अगाडि बढिरहेको छ”–आयोजना प्रमुख पाण्डेले भने ।
औद्योगिक र पर्यटकीय क्षेत्रमै १३२ केभी विद्युत् लाइन नहुँदा उद्योगीले समस्या भोगेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए । प्रसारण लाइन बनेपछि समस्या समाधान हुनेमा आशावादी रहेको उनले बताए ।
आर्थिक वर्ष २०७२/०७३ मा बुटवलको योगीकुटीबाट तिलोत्तमा हुँदै मैनहियासम्म लैजाने गरी आयोजना सुरु भएको थियो । जसमा सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकको किनारमा मोनोपोल (सिंगल पोल) राख्ने तयारी थियो । सडक छेउँबाट विद्युत लैजाँदा मानवीय जोखिम हुने भन्दै स्थानीयले मोनोपोल विस्तार गर्न दिएनन् । जसका कारण प्रसारण लाइन बिस्तारको काम दुई वर्षसम्म रोकियो । सडकको सट्टा तिनाउ नदीको किनारबाट रुट तय गरेर गत वर्षदेखि विद्युत विस्तार थालिए पनि स्थानीयले फेरी अवरोध गरे । त्यो अवरोध पनि अब सहमतिमा टुंगिएकाले आयोजना पूरा हुने अवस्थामा आइपुगेको आयोजना प्रमुख पाण्डेले बताए ।
यस रुटमा सामुदायिक संस्था र सामुदायिक वनले समेत पोल गाड्ने जग्गा नदिंदा आयोजनाले केही महिना समस्या झेलेको थियो । ‘व्यक्तिगत जग्गा मात्र होइन, सरकारी जग्गामा समेत सामुदायिक वनका नाममा विस्तारमा अवरोध गरिंदा आयोजना पछाडि धकेलियो’–उनले भने ।
लुम्बिनी कोरिडोरका उद्योगलाई प्राधिकरणले माग गरे अनुसार विद्युत दिन सकिरहेको छैन । विद्युत लोडकै कारण भैरहवा र लुम्बिनी क्षेत्रमा आपूर्ति नियमित हुन सकिरहेको छैन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij