
सोमवार , आषाढ ७, २०७८
भैरहवा, ७ असार ।
रुपन्देहीको भैरहवामा सोमबारदेखि १५ दिने कुक तालिम सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८, १२ रुपन्देहीको आयोजना र मायादेवी रिसर्च एजुकेशन एण्ड टे«निङ इन्ष्टिच्युट प्रा.लि.को सहयोगमा उक्त तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका न्यायिक समिति सदस्य तथा सिद्धार्थनगर–८ का वडा सदस्य उमेश थापा मगरले युवाहरु विदेश पलायन भइरहेको बेला यस्तो तालिमले युवाहरुलाई स्वरोजगार बन्न र स्वदेशमै काम गर्ने वातावरणको सिर्जना हुने बताए । उनले महिलाहरुले पनि अब यस्तो खालको तालिम लिएर स्वरोजगार तथा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । तालिमको सदुपयोग गर्न उनले प्रशिक्षार्थीहरुलाई आग्रह गरे । अहिलेको समयमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनको भनाइ थियो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य चन्द्रकला खनालले कुनै पनि काम सानो/ठूलो नहुने भएकोले काम सिकेर अगाडी बढ्न आग्रह गरिन् । उनले ध्यान दिएर सिक्न प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले तालिम पश्चात जागिर/व्यवसाय गर्न चाहनेलाई पनि सहजीकरण गरिने बताए । उनले सीप सिकेपछि स्वरोजगार बन्न सहज हुने बताए । निःशुल्क तालिमलाई तालिमको रुपमा मात्र नसोची तालिमको सदुपयोग गर्न उनले आग्रह गरे ।
मायादेवी रिसर्च एजुकेशन एण्ड टे«निङ इन्ष्टिच्युट प्रा.लि.का प्रबन्ध निर्देशक तथा होटल क्रस रोडका सञ्चालक वाई.पी. आचार्य ‘सुशान्त’ले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै यस क्षेत्रमा धेरै होटल सञ्चालनमा आउने भएकोले तालिमले होटलमा काम गर्न सहयोगी बन्ने बताए । उनले सानो कामबाट सुरु गरेर क्रमशः अगाडी बढ्नुपर्ने बताए । बुढेसकालमा पनि सिकेको सीपले सहयोग गर्ने उनको भनाइ थियो ।
मायादेवी रिसर्च एजुकेशन एण्ड टे«निङ इन्ष्टिच्युट प्रा.लि.का कार्यालय प्रमुख जीवन आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा ११ जनाको सहभागिता रहेको सिद्धार्थनगर–१२ का वडा सदस्य सरोज ठकुरीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij