२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

प्रतिमान नीमा प्रतिष्ठानद्धारा सियारीको कोभिड–१९ अस्पताललाई सहयोग

सोमवार , आषाढ ७, २०७८

भैरहवा, ७ असार ।
प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवाले रुपन्देहीको सियारी गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ विशेष अस्पताललाई सहयोग गरेको छ । प्रतिष्ठानले सियारी–७ स्थित पश्चिम अमवा स्वास्थ्य चौकीमा सञ्चालित अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो । अस्पताललाई केही भए पनि सहयोग पुगोस् र कोरोना संक्रमित बिरामीको उपचारमा सहजता होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको प्रतिष्ठानको कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । उनले स्वास्थ्य शिक्षा प्रदान गर्दै आएको संस्थाले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई अगाडी बढाउने अभियानअन्तर्गत उक्त सामग्री प्रदान गरिएको बताइन् । त्यस्तै प्रतिष्ठानले कोरोना संक्रमणका कारण मृत्यु हुने सियारी गाउँपालिकाका नागरिकको दाहसंस्कारका लागि राहत स्वरुप रु. १० हजार मृतक परिवारलाई उपलब्ध गराउने समेत घोषणा गरिएको थापाले जानकारी दिइन् ।

प्रतिष्ठानले आइतबार सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुमार्फत गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्ती र कोभिड–१९ विशेष अस्पतालका प्रमुख दिपेन्द्र रिजाललाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

अमेरिकास्थित ‘संगसंगै’ को सहयोगमा अस्पताललाई अक्सिजन कन्सनट्रेटर १ थान, अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन रेगुलेटर सेट ५ थान, पीपीई, सर्जिकल ग्लोब्स, सर्जिकल क्याप, फेश शिल्ड ५०/५० थान, सर्जिकल मास्क १ हजार थान र सेनिटाइजर ५० लिटर हस्तान्तरण गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले दोस्रो लहरको कोरोना महामारीमा अक्सिजनकै अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको बताए । उनले प्रतिमान नीमा स्मृति प्रतिष्ठानले गरेको यो कामप्रति धन्यवाद व्यक्त गरे ।  उनले मानव जीवन नै महत्वपूर्ण कुरा हो र जीवन भएन भने केही कुराको आवश्यकता पर्दैन भन्ने मान्यताका साथ मानिसको ज्यान बचाउनुपर्छ भन्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरेर प्रतिष्ठानले उदाहरणीय कार्य गरेको बताए । ‘यो कार्यक्रममा ठूलो भूमिका निर्वाह गर्नुहुने पूर्वमन्त्री दिपक बोहरालाई धन्यवाद दिन चाहन्छु, उहाँको सरल स्वभाव विचार र सजिलै आग्रहलाई स्वीकार गर्नु नै महान कार्य हो, असल समाजसेवीको गुण हो, ’अध्यक्ष थारुले भने ।

सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले प्रतिष्ठानले लुम्बिनीका प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सञ्चालन गर्ने अभियान थालेको बताए । उनले स्वास्थ्य संस्थाहरुलाई केही सहयोग गर्नुपर्छ भन्ने कुरा प्रतिमान नीमा स्मृति प्रतिष्ठानका उपाध्यक्ष एवं पूर्वमन्त्री दिपक बोहरासंग कुरा भएर अगाडी बढेको बताए । बिरामी र स्वास्थ्यकर्मी दुवैलाई आवश्यक पर्ने सामग्री प्रतिष्ठानले प्रदान गरेको राणाले बताए । कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी बिरामीको लागि भगवान भएको उनको भनाइ थियो ।

सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धिसागर घर्तीले प्रतिष्ठानले अत्यन्तै महत्वपूर्ण सामग्री उपलब्ध गराएको बताए । उनले दोस्रो लहरमा अस्पतालमा कोरोना संक्रमितको उपचार गरेर घर पठाइएको र कतिपय विरामीले ज्यान समेत गुमाउनुपरेको बताए । समाजसेवी प्रेम नारायण चौधरीले पूर्वमन्त्री दिपक बोहराको विशेष पहलमा सहयोग जुट्नु महत्वपूर्ण कार्य भएको बताए ।

कोभिड–१९ विशेष अस्पतालका प्रमुख दिपेन्द्र रिजालले स्वास्थ्य सामग्रीले काम गर्न अझ सहज हुने बताए । ऋषिराम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।