२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

प्रतिमान–नीमा स्मृति प्रतिष्ठानद्वारा शुद्धोधनको कोभिड अस्पताललाई सहयोग

आइतवार , आषाढ ६, २०७८

भैरहवा, ६ असार ।
प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवाले रुपन्देहीको शुद्धोधन गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ विशेष अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । अमेरिकास्थित ‘संगसंगै’ नामक संस्थाको सहयोगमा प्रतिष्ठानले शुद्धोधन–४ स्थित मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित कोभिड अस्पताललाई शनिबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

अस्पताललाई केही भए पनि सहयोग पुगोस् र कोरोना संक्रमित बिरामीको उपचारमा सहजता होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको प्रतिष्ठानको कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । उनले स्वास्थ्य शिक्षा प्रदान गर्दै आएको संस्थाले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई अगाडी बढाउने अभियान अन्तर्गत उक्त सामग्री प्रदान गरिएको बताइन् । त्यस्तै प्रतिष्ठानले उक्त अस्पतालमा भर्ना भएको बिरामी र यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई जेठ १७ गतेदेखि सुुरु गरी तीन महिनासम्म निःशुल्क खानाको व्यवस्थापन गरेको थापाले जानकारी दिइन् । त्यस्तै जेठ १७ देखि लागू हुने गरी शुद्धोधन गाउँपालिकाका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको अवस्थामा मृतकको दाहसंस्कारका लागि प्रतिष्ठानले १० हजार रुपैयाँ उपलब्ध गराउने उनले बताइन् ।

कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर १ कन्सन्ट्रेटर १ थान, अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन रेगुलेटर ५ थान, पीपीई ५० थान, सर्जिकल ग्लोब्स, सर्जिकल क्याप, फेस शिल्ड ५०/५० थान, सर्जिकल मास्क १ हजार थान र सेनिटाइजर ५० लिटर प्रदान गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुुर के.सी.ले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य तुल्सी प्रसाद चौधरीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले कोभिड अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गर्नु प्रशंसनीय कार्य भएको बताए । यस्ता खालका सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिन उनले आग्रह गरे ।

सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले प्रतिष्ठानले राम्रो काम गरेको बताए । उनले शुद्धोधन गाउँपालिका क्षेत्रमा पनि आँखा उपचार केन्द्रको स्थापना भए बिरामीहरुलाई टाढा जान नपर्ने बताए ।

शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गाउँपालिकाद्वारा सञ्चालित कोभिड अस्पताललाई सहयोग गर्ने प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरिन् । शुद्धोधन गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कंडेलले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले प्रदान गरेको स्वास्थ्य सामग्रीले पक्कै पनि कोभिड संक्रमितको उपचारमा सहयोग पुर्याउने बताए ।

यस अघि प्रतिष्ठानले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवास्थित भीम अस्पताल, नवलपरासीस्थित पृथ्वी चन्द्र अस्पताल, रुपन्देहीको रोहिणी गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ विशेष अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ । प्रतिष्ठानले लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा सरकारी अस्पताल र रुपन्देहीका तीन गाउँपालिकाका कोभिड अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम अनुसार उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।