२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भैरहवामा ‘फुड बैंक’ सुरु

बिहिवार , भाद्र ११, २०७७

भैरहवा, ११ भदौ । 
लकडाउनका कारण खानबाट कसैलाई पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भैरहवामा बुधबारदेखि फुड बैंक सञ्चालनमा आएको छ ।

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने नाराका साथ मायादेवी च्यारिटेबल फाउण्डेशन र लायन्स क्लब अफ भैरहवा लुम्बिनीले सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी (पिपरहिया)मा उक्त फुड बैंक सञ्चालनमा ल्याएको हो ।

लकडाउन अवधिसम्म फुड बैंकमा चामल, दाल, नुन, तेल, मस्यौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकता अनुसार वितरण गरिने मायादेवी च्यरिटेबल फाउन्डेशन तथा लायन्स क्लब अफ भैरहवा लुम्बिनीका संस्थापक अध्यक्ष रवि कुमार रौनियारले जानकारी दिए । कार्यक्रममा विभिन्न व्यवसायीहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको रौनियारले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले विषम परिस्थितिमा फाउन्डेशन तथा लायन्सले गरेको यो सहयोग निकै महत्वपूर्ण र उपयोगी रहेको बताए । उनले आगामी दिनमा पनि निरन्तर रुपमा यस्ता कार्य गर्न र सिद्धार्थ उद्योग वाणिज्य संघले समेत समन्वय र सहयोग गर्ने बताए । 

फुड बैंकमा आउने खाद्यान्न दैनिक छाक टार्न समस्या परेका परिवारलाई वितरण गरिने तथा जिन्सी सहयोग समेत स्वीकार गरिने कार्यक्रम संयोजक विरेन्द्र ज्ञवालीले बताए ।

कार्यक्रमको प्रशंसा गर्दै यसलाई लायन्स डिस्ट्रिक्ट इन्टरनेशनल ३२५ बी टु बाट सहयोग गरिने स्ट्रेटजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले बताए ।

कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ बी टु का हेड इभ्यालुयसन बिनोद खरेल, जोन चेयरपर्सन ओम जैसी, सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव तथा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य, सिद्धार्थ उ.वा. संघ कार्यसमिति सदस्य त्रिलोकी गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

समग्र विश्व नै कोभिड–१९ को कारण आक्रान्त बनिरहेको बेला गरिब तथा ज्यालादारी मजदूरी गरेर छाक टार्नेहरुलाई लकडाउनको समयमा सहयोग गर्न पाउँदा निकै खुशी लागेको स्थानीय बताउँछन् ।