भैरहवा, ३ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्रेक्टरको जोताईंको नयाँ भाडा दर कायम गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो । नगरपालिकाले ट्रेक्टरधनीका प्रतिनिधि समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर ट्रेक्टरको नयाँ भाडा दर कायम गरिएको वडा नम्बर १३ का वडाध्यक्ष समेत रहनुभएका भाडादर निर्धारण समितिका संयोजक गणेश न्यौपानेले जानकारी दिए ।
कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए । तिलोत्तमामा सर्वपक्षीय छलफलबाट ट्रेक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ४४० रुपैंयाँ र रोटाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८५० रुपैंयाँ कायम गरिएको हो । डिजलको मूल्यवृद्धि, बजारको अवस्था लगायतको आधारमा २०७७ वैशाखमा निर्धारण गरिएको भाडादरलाई समायोजन गरिएको वडाध्यक्ष न्यौपानेले बताए । अब तिलोत्तमा नगरपालिकामा निर्धारण गरिएको भन्दा बढी भाडा लिन पाइनेछैन । तर, ट्रेक्टर व्यवसायीले तोकिए भन्दा कम भाडा लिन सक्नेछन् ।
तिलोत्तमा नगरपालिकामा ट्रेक्टरको वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ । तिलोत्तमा नगरपालिकाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । प्रमुख खाद्यबाली धान रोपाईं प्रारम्भ हुँदै गर्दा ट्रेक्टरको नयाँ जोताईं भाडादर कायम गरिएको हो । तोकिएको भन्दा बढी भाडा कसैले लिए सम्बन्धित निकायमा जानकारी गराउन समिति संयोजक न्यौपानेले किसानलाई आग्रह गरे ।