
बिहिवार , आषाढ ३, २०७८
भैरहवा, ३ असार ।
कोभिड–१९ को महामारीमा रोजगार गुमाएका महिला तथा अल्पसंख्यकहरुलाई इनरव्हील क्लब अफ लुम्बिनी र नमुना एकीकृत विकास परिषद् रुपन्देही (नमुना)ले खाद्यान्न तथा स्वच्छता सामग्री सामग्री वितरण गरेको छ । प्लमस्टेड युथ क्लब, यूकेको आर्थिक सहयोगमा इनरह्वील क्लब र नमुनाले महिला तथा अल्पसंख्यकहरुलाई खाद्यान्न तथा स्वच्छता सामग्री सामग्री प्रदान गरेको हो ।
राहत सामग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले रोजगारी गुमाएका महिला, युवा, एकल महिला तथा यौनिक अल्पसंख्यक समुदायलाई रोजगार दिन मन्त्रालय र प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताइन् । उनले पछाडी पारिएका महिलालाई अगाडी बढाउनुपर्नेमा जोड दिइन् । ‘महिलालाई हेर्ने दृष्टिकोण फरक छ, धेरै ठाउँमा महिलाले संघर्ष गर्नुपर्छ, तर संघर्ष गर्ने क्रममा कहिल्यै हार खान हुँदैन, ’मन्त्री पाण्डेलले भनिन् । महिलाले आफूलाई कमजोर सोच्न नहुने उनको भनाइ थियो । महिलाले आफूलाई कमजोर सोच्न नहुने उनको भनाइ थियो । महिलाको उत्थानको लागि महिला स्वरोजगार बन्नुपर्ने उनले बताइन् । तराईको ६ जिल्लामा ढकिया बुन्ने कार्यक्रम सञ्चालन गरिने र उत्पादित वस्तुलाई बजारसम्म लैजान आवश्यक रहेको मन्त्री पाण्डेले बताइन् । प्रदेश सरकारले एक पालिका एक नमूना औद्योगिक ग्राम स्थापना गर्ने नीति लिएको उनले जानकारी दिइन् । उद्योग अन्तर्गत साना तथा मझौला उद्योग र लघुउद्यम विकास कार्यक्रमलाई अगाडी बढाइने उनको भनाइ थियो । मन्त्री पाण्डेले अविरल वर्षाका कारण कतिपय क्षेत्र डुबानमा परेकोले प्रभावितहरुको उद्दारमा जुट्न र सक्दो सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
इनरव्हील क्लब अफ लुम्बिनीका संस्थापक अध्यक्ष तथा नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौड्यालले कोभिड-१९ बाट प्रभावित २० जना महिला तथा यौनिक अल्पसंख्यकलाई खाद्यान्न सामग्री प्रदान गरेर कार्यक्रमको सुरुवात गरेको बताइन् । उनले आवश्यकता अनुुसार कोष अभिवृद्धि गरी राहत वितरण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन् । उनले कोभिडका कारण रोजगारी गुमाएका महिला तथा यौनिक अल्पसंख्यक बढी जोखिममा रहेको र डेरामा बस्दै आएकाले भाडा समेत तिर्न नसकी अप्ठ्यारो परिस्थितिको सिर्जना भएको बताइन् ।
उनले महिला उद्यमशिलतालाई अगाडी बढाउनुपर्ने बताइन् । उनले उद्योग, वन तथा वातावरण मन्त्रालयले उत्पादित वस्तुले बजार पाउने गरी आवश्यक समन्वय गर्नुपर्ने बताइन् । उनले रोजगार गुमाएका जोखिममा रहेका महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक, एचआईभी संक्रमित व्यक्तिलाई लक्षित गरी सीपमूलक तालिम, पुंजी र प्रविधिको सहयोग गरी आत्मनिर्भर बनाउने कार्यक्रमको आवश्यकता रहेको बताइन् ।
इनरव्हील क्लब अफ लुम्बिनी वर्ष २०२०/२१ का अध्यक्ष रचना क्षेत्रीले विगतका दिनमा पनि इनरव्हील क्लब र नमुनाले संयुक्त रुपमा विभिन्न कार्यक्रम सम्पन्न गरेको बताइन् । उनले घाउमा मल्हम लगाएर केही राहत भए जस्तै खाद्यान्न सामग्रीले केही भए पनि मल्हमको काम गर्ने विश्वास व्यक्त गरिन् । क्लबका सचिव रुविता कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
मन्त्री पाण्डेद्वारा नमुना कोशेली घरको अवलोकन
यसैबीच लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले नमुना एकीकृत विकास परिषद् (नमुना) द्वारा सञ्चालित नमुना कोशेली घरको अवलोकन गरेकी छन् । महिलाद्वारा उत्पादित विभिन्न हस्तकलाका सामग्रीहरु राखिएको उक्त कोशेली घरको बारेमा नमुनाका अध्यक्ष ज्ञानु पौड्यालले मन्त्री पाण्डेलाई जानकारी गराएकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij