
मंगलवार , भाद्र ९, २०७७
भैरहवा, ९ भदौ ।
भीरबाट ढुंगा खसेर दुवै खुट्टा भांचिएका प्युठान फोप्लीका १३ वर्षिय जीवन पुनको आर्थिक अभावको कारण उपचारमा समस्या देखिएपछि नेत्र प्रसाद आचार्य नेतृत्वको लायन्स क्लब अफ सिद्धार्थनगरले जीवनको सम्पूर्ण उपचार खर्चको व्यवस्था गर्ने भएको छ ।
आचार्य नेतृत्वको क्लबले भैरहवा क्षेत्रका लायन्स, जेसीस, रोटरी लगायत अन्य सामाजिक संघ–संस्थाहरुसंग समन्वय गरेर मंगलबार जीवनको उपचार भइरहेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा पुगेर उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव समेत रहेका एमजेएफ आचार्यले जीवनका बुवा कर्ण बहादुृरलाई दुई लाख ७० हजार बराबरको चेक हस्तान्तरण गर्दै अस्पतालमा लाग्ने सम्पुर्ण खर्च व्यहोर्ने समेत बताए ।
आचार्यले भने, ‘पैसाको अभावको कारण जीवनको उपचारमा समस्या आएको विभिन्न सञ्चारमाध्यममा समाचार पढेपछि हामी अत्यन्तै भावविहल भयौं । त्यसपछि मैले लायन्स सदस्यहरु, अग्रजहरु, यस क्षेत्रका सामाजिक संघ–संस्थासंग सम्पर्क गरे । सबैले सहयोगको लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । आज यो रकम हस्तान्तरण गरेका छौं । र, यहां अस्पतालमा लाग्ने सबै रकम सबै संघ–संस्थाको सहकार्यमा उठाएर जीवनको शल्यक्रिया (अप्रेशन) गर्ने व्यवस्था हामी गछौं ।’
जीवनको उपचारार्थ लायन्स क्लब अफ सिद्धार्थनगरले ५१ हजार, लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले ३५ हजार, लायन्स क्लब अफ टुलिपले ३५ हजार लगायत संघ–संस्थाहरु गरी १ लाख २१ हजार हस्तान्तरण गरेको विनोद खरेलले जानकारी दिए ।
रकम प्राप्त भएपछि जीवनका बुबा कर्णबहादुरले समाचारमार्फत छोरोको उपचारको लागि रकम जुटेको भन्दै खुशी व्यक्त गरे । उनले सहयोग गर्ने सम्पूर्ण संघ–संस्थालाई धन्यवाद दिए ।
अस्पताल परिसरमै भएको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा लायन्सका अगुवा धर्मराज श्रेष्ठ, महेशचन्द्र थापा, नवराज न्यौपाने, विजय पाण्डे, विनोद खरेल, दुर्गा आचार्य, धर्मराज आचार्य, रमेश घिमिरे, चन्द्र बहादुर थापा, माया सारुमगर, अनिता थापा, थिरेन्द्र श्रेष्ठ, निर्मला श्रेष्ठ, विनिता थापा, सरिता आचर्य लगायतको उपस्थिति रहेको थियो ।
अस्पतालका जनसम्पर्क अधिकृत शुशिल गुरुङले नेत्र प्रसाद आचार्यसहितको सहयोगी संघ–संस्थाले अस्पतालमै आइ जीवनको उपचारमा लागेको खर्च व्योहोर्ने प्रतिवद्धता व्यक्त गरेको बताए । उनले भने, ‘जीवनको उपचारमा अस्पतालले पनि सहयोग गरेको छ । अब झन संघ–संस्थाले खुलेर सहयोग गर्न थाल्नुभएको छ । उनको उपचारमा कुनै समस्या हुँदैन ।’
गत साउन ३० गते घरबाट स्थानीय बहाने बजार जादैं गर्दा लम्पुकभीरमा एक्कासी ढुंगा खस्दा जीवन घाइते भएका थिए ।
भीरबाट खसेको ढुंगाले उनको खुट्टा किच्दा दुबै खुट्टाको हड्डी भाँचिएर छतविक्षत भएको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् ।
युसिएमएसमा भर्ना भएका जीवनको उपचारमा भने आर्थिक अभावले समस्या परेको थियो ।
ऋण काढेंर ४० हजार साथमा लिएर प्युठानदेखि छोरोलाई लिएर भैरहवा आएका जीवनका बुबा कर्णबहादुर यतिबेला पैसा अभाबले सहयोगको याचना गर्दै हिडिरहेको समाचार प्रकाशित भएपछि आचार्यको समूहले उक्त सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् ।
सहयोग पाएपछि गाउँघरमा खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका कर्णबहादुर छोरोलाई पैसा नहुँदा बचाउन सकिन्न कि भन्ने चिन्ता पनि हटेको छ ।
प्युठानको नौबहिनी गाउपालिका वडा नम्बर ८ फोप्ली गैराथोक स्थायि घर भएका कर्णबहादुरको जीवनसहित १० वर्षकी छोरी पनि छन् । स्थानीय नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका जीवन आफ्ना बाबुसंगै साउन ३० गते बिहान बहाने बजार जादैं थिए । बहाने जाने क्रममा टिम्ले खोलास्थित लम्पुक भीरमा हिंड्दै गर्दा माथिबाट खसेको ढुंगाले च्याप्दा जीवनको दुवै खुट्टा भाचिएको हो ।
त्यसदिनको घटना सम्झिदैं कर्णबहादुर भन्छन्, ‘जीवनलाई कपडा किन्न भनेर हामी बाबु छोरा बहाने जाँदै थियौं । लम्पुकभीरमा हिंड्दै गर्दा एक्कासी माथिबाट ढुंगा खस्यो । म अलि पछि थिए र जोगिए । छोरालाई लागिहाल्यो । त्यसपछि हारगुहार गरेर बिजुवार पुराएं । बिजुवार अस्पतालले तुरुन्तै भैरहवा जान भन्यो । अनि एम्बुलेन्समा त्यसैदिन सांझ यहां आएका हौं । ’
सुरुमा आइसीयुमा राखेर उपचार गरिएको जीवनको स्वास्थमा सामन्य सुधार भएपछि हाल वार्डमा राखेर उपचार भइरहेको युसिएमएस भैरहवाका प्रशासन संयोजक तेज कुमार के.सीले बताए । उनले भने, ‘अस्पतालको तर्फबाट सकेको सहयोग गरेका छौं ।
जीवनको उपचारमा डा. प्रकृतिराज कडेंल, डा. किशोरमान श्रेष्ठसहितको चिकित्सको टोली संलग्न छ । चिकित्सकहरुका अनुसार ढुंगाले थिच्दा उनको खुट्टाको हड्डी सबै भाचिएको छ । खुट्टाको हड्डी धेरै ठाउमा भाचिंएकोले अप्रेशन पनि गम्भिर ढंगले गर्नुपर्ने हुन्छ । अस्पताल प्रशासनको अनुसार उनको उपचारको लागि करिब चार लाखको हाराहारी खर्च आउने देखिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij