
सोमवार , भाद्र ८, २०७७
भैरहवा, ८ भदौ ।
सरकारले बन्दाबन्दी (लकडाउन) खुकुलो बनाउने निर्णय गरेपछि पहिलो महिनामा भैरहवा भन्सार कार्यालयको राजस्व संकलन सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।
साउनमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई पाँच अर्ब ९५ करोड ९३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । तर कार्यालयले ५ अर्ब ९६ करोड ४० लाख २८ हजार ३ सय ८ रुपैयाँ राजस्व असुली गर्न सफल भएको छ । जुन लक्ष्य भन्दा ४७ लाख रुपैयाँ बढी हो ।
विभागले भैरहवा भन्सार कार्यालयलाई यस वर्ष ९८ अर्व ४५ करोड ४२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराईले जानकारी दिए । तीन महिनाको लगातारको बन्दाबन्दीका कारण राजस्व संकलनमा निकै कमी आएको थियो । तर साउनमा बन्दाबन्दी खुलेपछि राजस्व असुली बढे पनि भदौदेखि भने स्थानीयस्तरमा भएको बन्दाबन्दीका कारण राजस्व संकलनमा असर पुग्ने देखिएको छ ।
आयातको तुलनामा निर्यात नगन्य रहेको यो नाकाबाट भटमासको तेल, सेन्थेटिक यार्न, स्टीलका भाँडाकुँदा, चोकर, भुस, बोरा झोला, चाउचाउ, तयारी कपडा, काँच र डण्डी ट्यूव, प्लाष्टिकका नली पाइप, अन्य रेसाको कपडा, खोटो रोजीन, अन्य मसला, दालचिनी, जडिबुटी लगायतका वस्तु साउन महिनामा निकासी भएको छ । साउन महिनामा आलु, प्याज, चामल लगायतका खाद्यवस्तु अघिल्लो वर्षको तुलनामा बढी आयात भएको छ ।
त्यस्तै डिजेल, पेट्रोल, औद्योगिक कच्चा पदार्थ, मोटर पार्टस, हार्डवेयर, मोटरसाईकल, एमएस बिलेट, ग्लोज टाइल, मार्वल स्ल्याव, पत्थर कोइला, सिंगल क्याब पिकअप भ्यान, मिनी ट्रक, जिप, कार, भ्यान लगायतको वस्तुको आयातमा भने कमी आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij