
बिहिवार , जेठ २७, २०७८
देवदह, २७ जेठ ।
कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीको कारण जारी निषेधाज्ञाको बेला बजारमा कालोबजारी बढेको गुनासो आएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले रुपन्देहीको देवदहमा बजार अनुगमन गरेको छ । अनेरास्ववियुले स्थानीयस्तरमा जनगुनासोहरु आएपछि बजार अनुगमन गरिएको जनाएको छ । विद्यार्थी संगठनले अनुगमन गरेपछि उद्योगी व्यवसायीका संघ–संगठनले भने विरोध जनाएका छन् ।
उनीहरुले सम्बन्धित निकायको अनुमति बिना अनुगमन भएको भन्दै विरोध जनाएका छन् । आफूहरुले स्थानीय सरकार देवदह नगरपालिकाको अनुुगमन संयोजक विष्णु पाण्डेलाई जानकारी गराएर मात्र अुनुगमन गरिएको अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य तथा देवदहआर्दश बहुमुखीक्याम्पसका सभापति कृष्ण पौडेलले बताए । उनले आफ्नो नेतृत्वमा गएको विद्यार्थी संगठनको टोलीले देवदहको खैरहनी लगायतका बजार क्षेत्रमा सञ्चालित व्यापार व्यवसायमा अनुगमन गरेको बताए ।
संगठनले बजार क्षेत्रको अनुगमन गर्ने क्रममा बजार क्षेत्रमा मुल्य सुचि नभएका वस्तुहरुको मुल्यसूची राख्न र निषेधाज्ञाको पालना गर्दै नियमानुसार व्यापार व्यवसाय संचालन गर्न आग्रह गरेको अनुगमनका संयोजक कृष्ण पौडेलले बताए । उनले बजारमा विक्रीका लागी राखिएका जस्तुको मुल्य सुची नभएको अवस्थामा कालोबजारी बढ्ने भएकोले आफुहरुले मुल्यसूची राख्न अनुरोध गरिएको बताए ।
तर विद्यार्थी संगठनले गरेको बजार अनुगमनको भने सोही क्षेत्रका औद्योगिक, तथा व्यवसायिक संघ–संगठनले बिरोध जनाएका छन । देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकाल, उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खाती, देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङले सयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले गरेको बजार अनुगमनको विरोध जनाएका हुन् ।
विज्ञप्तिमा सम्बन्धित निकायको अनुमति नलिई अनेरास्ववियुको देवदहको नामबाट व्यवसायीलाई हत्तोसाहित गराउने कार्य भएकोेले संघ–संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । सम्बन्धित निकायको सहमति र निर्देशन बिना गरिने क्रियाकलापहरु तुरुन्त रोक्न स्थानीय सरकार र स्थानीय प्रशासनसंग विज्ञप्तीमार्फत माग गरिएको छ ।
यता, देवदहका औद्योगिक तथा व्यवसायिक संघ–संस्थाले विरोध जनाउँदै प्रेस विज्ञप्ति जारी गरेकोप्रति अनेरास्ववियु रुपन्देहीले आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र जारी गरेको छ । अनेरास्ववियु रुपन्देहीका संयोजक साजन भण्डारीद्वारा हस्ताक्षरित ध्यानाकर्षण–पत्रमा भनिएको छ, ‘अनेरास्ववियु रुपन्देहीले समाजमा भइरहेको गतिविधिहरुको निगरानी र व्यवसायीहरुलाई दैनिक उपभोग्य सामानको मुल्य सूची सबैले देख्ने गरी राख्न अनुरोध गरिएकोमा देवदहका केही व्यवसायिक संगठनले आपत्ति जनाएकोप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij