
शुक्रवार , जेठ २१, २०७८
तिलोत्तमा, २१ जेठ ।
प्रेस चौतारी नेपाल, रुपन्देही र तिलोत्तमा नगरपालिकाको सहकार्यमा स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण उपचाररत चौधरीको यही जेठ ५ गते बुटवलस्थित कारोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।
स्वर्गीय पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित निवासमा पुुगेर प्रेस चौतारी रुपन्देही शाखाको टोलीले सहयोग स्वरुप संगठनको तर्फबाट ५१ हजार र चौतारीको पहलमा तिलोत्तमा नगरपालिकाबाट प्राप्त ५० हजार गरी एक लाख एक हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
उक्त सहयोग रकम प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीका इञ्चार्ज मोहन चापागाईंले स्वर्गीय चौधरीको श्रीमती उदयदेवी कुँवरलाई हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा उनले यो महामारीमा पत्रकार चौधरीको उपचारमा प्रेस चौतारीको तर्फबाट सक्दो कोशिष भए पनि ज्यान बचाउन नसकेकोमा दुःख व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । उनले पीडित परिकारको दुःखमा पार्टी र संगठन सधै साथमा रहने पनि बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, उपाध्यक्ष लक्ष्मण पौडेल, तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार वि.पी. गौतम, संगठनका सदस्यहरु दिनेश श्रेष्ठ, स्वस्तिक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका स्थानीय कमिटीका विभिन्न नेताहरुको समेत उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij