
शुक्रवार , जेठ २१, २०७८
परासी, २१ जेष्ठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्देश त्रिपाठीले चुनाव अगाडी नै सबै नेपालीलाई खोप लगाई सक्ने सरकारको योजना रहेको जानकारी दिएका छन् । कोभिड–१९ विरुद्धको खोप १८ बर्ष माथिका सबै नेपालीहरुलाई लगाउन सरकारले खोप उत्पादक देशहरु संग खोप खरिद गर्ने प्रकृया अगाडी बढाइ सकेको मन्त्री त्रिपाठीले जानकारी दिएका हुन् ।
बढदो कोभिड–१९ को संक्रमण रोकथाम र सबैलाई खोप लगाउने कार्य अहिले सरकारको प्राथमिकतामा रहेको भन्दै खोप प्राप्तीका प्रकृयाहरु शुरु भईसकेको मन्त्री त्रिपाठीले नवलपरासीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । गृह जिल्ला आएका मन्त्री त्रिपाठीले जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रोटरी क्लब अफ नवलपरासीले बनाएको ४ बेडको आइसियु वार्डको उद्दघाटन समेत गरेका छन् ।
मन्त्री त्रिपाठीले निर्मित आइसियु वार्डको रिबन काटेर उद्घाटन गर्दै सो कक्षको अनुगमन समेत गर्दै यस्तो माहामारीका बेला अस्पतालहरुमा बढ्दो सामाजिक संघ संस्थाहरुको सहयोगले अस्पतालहरुलाइ निकै सहयोग पुगीरहेको विश्वास व्यक्त गरे । मन्त्री त्रीपाठीले, बढ्दो कोभिड १९ को संक्रमण रोकथाम र उपचारमा सहयोग गर्दै आएका विभिन्न सामाजिक संघ संस्था र रोटरीद्वारा निर्मित आइसियु वार्डको प्रसंशा गर्दै छिटै सबै नेपाली जनताहरुको खोपमा पहुँच हुने बिश्वास व्यक्त गरे ।
जिल्ला अस्पतालको रुपमा रहेको अस्पतालमा आइसियु र एच्डियु सेवा नहुदा कोभिड १९ लगायत अन्य रोगका गम्भीर बिरामीहरुलाइ उपचारका लागि बाहिरी जिल्लाहरुमा पठाउने गरिएको छ तर रोटरी क्लबले आफ्ना सदस्यहरु संग मात्र रकम संक्लन गरि करिब ११ लाख रुपैयामा उक्त ४ बेडको आइसियु वार्ड अस्पताललाई हस्तान्त्रण गरेपछि अबका दिनमा सो बाध्यता हटने अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले जानकारी दिए ।
अध्यक्ष चौधरीका अनुसार अझै सो वार्डलाई आइसियुकै रुपमा चलाउन, दक्षजनशक्ति, हाईफ्लो अक्सिजन, भेन्टीलेटर लगायतका सर सामानहरुको आवश्यक्ता रहेको जानकारी दिए । मेनपावर लगायतका सरसमानको अभावका कारण तत्कालै यस वार्डलाइ आइसियुको रुपमा सञ्चालन गर्न नसकिएपनि अलि गम्भीर विरामी र अपरेशन पश्चातका विरामीहरुलाई यस वार्डमा राखी कार्डिएक मोनिटरबाट निगरानी गरि उपचार सेवा प्रदान गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर मोहम्मद नुरुलहोदाले जानकारी दिए ।
अस्पतालमा आइसियु सेवा नहुँदा अकालमा मृत्यु हुने र बाहिरी जिल्लाहरुमा विरामीहरुलाई रिफर गर्नु पर्ने बाध्यतालाई हटाउन रोटरी क्लबले यो सहयोग गरेको क्लबका अध्यक्ष सुमन गोपाल आचार्यले बताउदै आगामी दिनहरुमा अस्पताललाई थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
आइसियुका लागि आवश्यक सुविधायुक्त बेड, काडिएक मनिटर, औषधी राख्ने सानो दराज, बस्ने स्टुल, सहितका सरसामानहरु खरिद गर्न र सेटअपका लागि क्लबका नोमिनी परेसिडेन्ट विरेन्द्र अग्रहरीको संयोजकत्वमा भएको र उक्त सरसमानहरु खरिदमा बरिठ फिजिसियन डाक्टर महेन्द्र कुमार अग्रहरीको अहम भुमिका रहेको थियो ।
आइसियु वार्ड हस्तान्त्रण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, प्रदेशसभा सदस्य अजय कुमार शाही, जिल्ला समन्वय समिती प्रमुख शिव सन्कर राय, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, स्वतन्त्र राजनीतिक समुहका जिल्ला संयोजक राधेरमण पान्डे, अस्पताल बिकास समिति अध्यक्ष जगदीश चौधरी लगायतले यस कार्यको प्रसंशा गर्दै थप यस्तै सहयोगको अपेक्षा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij