
मंगलवार , जेठ १८, २०७८
भैरहवा, १८ जेठ ।
रुपन्देही प्रहरीले एकैदिन पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट सजाय भइ हालसम्म फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक मक्रहर–६ हाल तिलोत्तमा–११ रुपन्देहीका रुपा बुढाथोकी भन्ने ५३ वर्षिय धन बहादुर बुढाथोकी, साविक मधवलिया हाल तिलोत्तमा–१६ का ५६ वर्षिय कन्हैया कुंवर जोगी, तिलोत्तमा–१६ कै ३६ वर्षिय राजन चौधरी भन्ने वेनिराम कवर जोगी, साविक सुर्यपुरा–२ हाल गैडहवा–८ का ३२ वर्षिय वलबिर कुमार सुनार र साविक शंकरनगर हाल तिलोत्तमा–२ का ३४ वर्षिय बाबुराम वि.क. रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।
डीएसपी थापाका अनुसार अदालतले धन बहादुरलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष, कन्हैयालाई कर्तव्य ज्यानमा १४ वर्ष, वेनीरामलाई जवरजस्ती करणीमा ७ वर्ष, वलबिरलाई कर्तव्य ज्यानमा १९ वर्ष ३ महिना र बाबुरामलाई अप्राकृतिक मैथुन मुद्दामा ४ वर्ष ८ महिना गरी पाँच जनालाई ५४ वर्ष ८ महिना ३ दिन कैद सजायको फैसला गरेको थियो ।
वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले प्रतिवादीहरुलाई उनीहरुको घरमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको मंगलबार रुपन्देही जिल्ला अदालत रुपन्देहीमा कैद भुक्तानको लागि बुझाएको र उनीहरु कारागार कार्यालय चलान भएको प्रहरीले जनाएको छ ।
रुपन्देही जिल्लामा अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले २०७८ वैशाख १ गतेदेखि जिल्ला प्रहरी कार्यालयले ‘फरार प्रतिवादीविरुद्धको अप्रेशन कार्यक्रम’ सञ्चालन गरेको छ । ‘कोभिड–१९ महामारीमा समेत जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय भएका हालसम्म १६ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको छ, ’डीएसपी थापाले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij