२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

निजी क्षेत्रको सक्रियतामा बुटवलमा ५० शय्याको कोभिड अस्पताल

सोमवार , जेठ १७, २०७८

बुटवल, १७ जेठ ।

निजी क्षेत्रबाट कोभिड नियन्त्रण र उपचारमा सघाउ पुर्याउने उद्देश्यले बुटवलमा ५० शैय्याको कोभिड अस्पताल स्थापना गरिएको छ । कुल ३ करोड रुपैयाँको लागतमा स्वास्थ्य उपचार सामग्री र उपकरण व्यवस्थापन गरी तत्कालै कोभिड संक्रमितका विरामीको उपचार सुरु गरिएको छ । 

वि.सं. २०७७ सालमा नेपाल सरकारबाट ५० शय्याको अस्पतालको सम्वन्धन स्वीकृति प्राप्त गरेको बुटवल १३ बेलबासस्थित एडमण्ड सिटी अस्पतालले कोभिड महामारीलाई लक्षित गर्दै ५० बेडको अस्पताल सञ्चालनमा ल्याएको हो । 

करिब १ विगाहा क्षेत्रफलमा निर्मित भवनमा भेण्टिलेटरसहित ८ शैय्याको आइसीयू कक्ष, ७  शय्याको एचडीयू कक्ष तथा ३५ शैय्याको आइसोलेशन कक्षसहित ५० शय्याको कोभिड लक्षित अस्पताल संचालनमा ल्याइएको अस्पतालका अध्यक्ष प्रकाश रानाले बताए ।

यही १८ गते मंगलबारदेखि पूर्ण संचालनमा आउने सो अस्पतालमा विशेषज्ञ चिकित्सक ४ जना, मेडिकल अफिसर १०, नर्सिङ्ग स्टाफ ३८, प्यारामेडिक २२ र अन्य कर्मचारीसहित १ सय ४० जना कार्यरत रहने अध्यक्ष रानाले जानकारी दिए । 

नेपालमा कोभिडको संक्रमण दर केही कम भए पनि जोखिम कायमै रहेकाले कोभिड नियन्त्रण, रोकथाम र उपचारमा राज्यलाई टेवा पुर्याउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अध्यक्ष रानाले बताए। 

कोभिड महामारी अन्त्य भएमा सोही अस्पतालमा अन्य उपकरण थप गरी ट्रमा सेन्टर, न्यूरो तथा क्यान्सर रोग उपचार लगायतका महत्वपूर्ण कार्यहरु गर्ने लक्षका साथ योजनाहरु बनाइएको अस्पतालले जनाएको छ ।IMG_0073.JPG