
शुक्रवार , जेठ १४, २०७८
बुटवल, १४ जेठ ।
होटल व्यवसायीले कोभिड–१९ को विश्वव्यापी महामारीबाट थला परेको व्यवसाय संरक्षणका लागि घरबहाल कर छुट गर्न र व्यवसायको अग्रभागमा खटिने कामदारलाई कोभिडविरुद्धको खोपको व्यवस्था गर्न माग गरेका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस संक्रमणको महामारीका कारण थलिएको पर्यटन क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि सरकारले सहुलियत ब्याजदरमा ऋणको व्यवस्था गर्न माग गरेको हो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले निषेधाज्ञाको कारणबाट राज्यलाई बुझाउने मुल्य अभिवृद्धि कर तथा अन्य महशुल बुझाउने समयावधी बढाउन र कुनै ब्याज जरिवाना नलिने नीति तय गर्न माग गरेका छन् ।
कोभिड-१९ को दोस्रो भेरियन्टका कारणवाट होटल व्यवसाय पूर्ण रुपमा बन्द भएकाले धेरै स्वरोजगार मुलक व्यवसायी तथा मजदूर कर्मचारीको रोजीराटी गुम्ने अवस्था सिर्जना भएकोले त्यस्ता व्यवसायीलाई राज्य तहबाट उचित राहतको व्यवस्था मिलाउन अध्यक्ष गौतमले माग गरेका हुन् ।
व्यवसायीले कोरोना भाइरसका कारण सरकारले निषेधाज्ञा गरेको अवस्थामा सबै होटल रेष्टुरेण्टको व्यापार व्यवसाय बन्द रहेकाले लकडाउनको अवधिभरको घरभाडा पूर्ण रुपमा छुट गर्ने व्यवस्था मिलाउन, विद्युतमा लगाउँदै आएको डिमाण्ड चार्ज १ वर्षसम्म छुट गर्न संघका महासचिव माधव कुमार खनालले सरकार समक्ष माग गरेका छन् ।
व्यवसायीले कोरोना महामारीका कारण व्यवसायिक अस्तित्व अत्यन्तै जोखिममा पुगेको उनले गुनासो गरेका छन् । यो अवस्थामा होटल व्यवसाय टिकाउन सकिन्छ कि सकिँदैन भन्ने अन्यौलकाबीच व्यवसायी रहेका भन्दै यसबाट लाखौ आश्रित कर्मचारी र मजदूरहरुको रोजगारी समस्यामा परेको संघका द्वितीय उपाध्यक्ष लेखनाथ भण्डारीले बताए ।
होटलको पुनरुत्थानका लागि ३ वर्षको लागि विशेष कर सहुलियतको व्यवस्था गर्दै होटल पूर्ववत लयमा नआउञ्जेलसम्म वर्तमान मूल्य अभिवृद्धि करमा छुट, आयकरमा पाउँदै आएको २० प्रतिशत छुटलाई ५० प्रतिशत कायम गर्न र जरिवाना तथा हर्जाना पूर्ण मिनाहाको माग व्यवसायीले गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij