
बुधवार , जेठ १२, २०७८
भैरहवा, १२ जेठ ।
सुन्दर प्याईउड सेन्टर लुम्बिनीरोड तथा सुन्दर हार्डवेयर एण्ड प्लाईउड सेन्टर सिद्धार्थनगर–८, नारायणपथ, भैरहवाले भीम अस्पताललाई बेड तथा आर्थिक सहयोग गरेको छ । सेन्टरले बुधबार अस्पताललाई २० थान मेडिकल बेड तथा अक्सिजन प्लान्ट जडानको लागि एकलाख १ हजार रुपैयाँ प्रदान गरेको हो ।
सुन्दर प्लाईउडले २० थान बेडको ३ लाख ४० हजार, बेडसिटको ८ हजार ५ सय र अक्सिजन प्लान्ट जडानको लागि १ लाख १ हजार गरी ४ लाख ४९ हजार ५ सय बराबरको सहयोग गरेको जनाएको छ ।
कोभिड–१९ को महामारीमा सेवा अन्तर्गत अस्पताललाई मेडिकल बेड प्रदान गरिएको सेन्टरका सञ्चालक जोगेन्द्र अग्रहरीले बताए । हिन्दु स्वयंसेवक संघ नेपाल भैरहवा विभागका व्यवस्था प्रमुख तथा अग्रहरी सेवा समाज भैरहवाका संस्थापक अध्यक्ष समेत रहेका अग्रहरीले कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले मेडिकल बेड र रकम प्रदान गरेकोे बताए ।
सेन्टरका सञ्चालक जोगेन्द्र अग्रहरी र लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई बेड तथा एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले अहिलेको समयमा कोरोना महामारीको सामना गर्नु सबैको उद्देश्य भएको बताए । उनले कोरोना महामारीमा जनताले संघर्ष गरिरहेको बेला व्यवसायी जोगेन्द्र अग्रहरीले अस्पताललाई बेड तथा आर्थिक सहयोगमार्फत उदाहरणीय काम गर्नुभएको बताए । ‘महामारीमा मर्यादा नखोजौ, नागरिकको ज्यान बचाउनु नै अहिलेको आवश्यकता हो, ’मन्त्री पाण्डेयले भने ।
अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले अस्पताललाई बेड तथा अक्सिजन प्लान्टको लागि सहयोग गर्ने सुन्दर प्याईउड सेन्टर तथा सुन्दर हार्डवेयर एण्ड प्लाईउड सेन्टरलाई धन्यवाद दिए ।
जनता समाजवादी पार्टी नेपाल, सिद्धार्थनगरका इञ्चार्ज बैजनाथ गुप्ता (बी.एन.)ले अक्सिजन प्लान्ट जडानका लागि एक लाख रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गरे ।
महामारीको बेला अस्पताललाई मेडिकल बेड तथा आर्थिक सहयोग उपलब्ध गराउने कार्य प्रशसंनीय भएको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका तृतीय उपाध्यक्ष रविकान्त उपाध्याय बताउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij