
मंगलवार , जेठ ११, २०७८
भैरहवा, ११ जेठ ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले आफ्ना सदस्यहरुलाई खाद्यान्न लगायतका राहत सामग्री प्रदान वितरण गरेको छ । महामारीकाबीच आफ्नो कर्तव्य पूरा गर्दै समाचार संकलन तथा सम्प्रेषणमा खटिएका प्रेस चौतारीका सदस्यहरुलाई विभिन्न संस्थासंगको सहकार्यमा खाद्य सामग्री वितरण गरिएको हो ।
जिल्लाका विभिन्न स्थानमा क्रियाशिल सदस्यहरुलाई २५ केजी चामल, नून, तेल, दाल, आँटा लगायतका साग्री प्रदान गरिएको छ । राहत वितरणको पहिलो चरणमा ५५ बोरा चामलसहितका खाद्य सामग्री प्रदान गर्न लागिएको प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरीले जानकारी दिए । ‘क्रियाशिल प्रेस चौतारीमा आवद्ध सदस्यहरुको घरदैलोमै पुगेर तथा केही पत्रकारहरुलाई निश्चित ठाउँमा बोलाएर राहत रामग्री वितरण कार्य भइरहेको छ ।’–अध्यक्ष गिरीले भने, आवश्यक अन्य सहयोगका लागि पनि प्रेस चौतारीले तयारी गरिरहेको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष मोहन चापागाईको नेतृत्वमा जिल्लाका विभिन्न ठाउँमा पुगेर सञ्चारकर्मीहरुलाई राहत सामग्री वितरण गरिएको थियो । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान उपाध्यक्ष भरत केसी, केन्द्रीय सदस्य तथा पत्रकार महासंघ रुपन्देहीका निवर्तमान उपाध्यक्ष दिनेश पाण्डे, पत्रकार दिपेश पछाई लगायतको सक्रियतामा सञ्चारकर्मीहरुलाई राहत सामग्री वितरण गरिएको हो ।
प्रेस चौतारीले सम्पूर्ण सन्चारकर्मीहरुलाई सकेसम्म घरमै बसेर वैकल्पिक उपायको खोजी गरी फोन र इमेलका माध्यमबाट समाचार संकलन गर्न आग्रह गरेको छ । फिल्डमै जान परे अत्यन्त सावधानीका साथ स्वास्थ्य सामग्रीहरुको प्रयोग गरेर मात्र जानका लागि चौतारीले आग्रह गरेको छ । चौतारीले आम सर्वसाधारणलाई समेत कोभिड–१९ को बढ्दो जोखिमबाट बच्नका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको तथा निषेधाज्ञाको पालना गरेर सुरक्षित साथ घरमै बस्न आग्रह गरेको प्रेस चौतारीका केन्द्रीय सदस्य प्रदिप आचार्यले बताए । संकटका बेला जनतालाई भयाह र निरुत्साहित गर्ने भन्दा उत्साह र सकारात्मक सन्देशसहितका समाचार सम्प्रेषण गर्न आचार्यले आग्रह गरे ।
प्रेस चौतारीले यसअघि जिल्लामा रहेका १५० बढी सदस्यहरुलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको थियो ।
महामारीको बेला नागरिकलाई सकारात्मक सन्देश र आत्मबल बढ्ने गरी सन्देश प्रवाह गर्न र सत्य र निष्पक्ष भएर सन्देश प्रभाव गर्न प्रेस चौतारीले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । निषेधाज्ञाको अवधि थप लम्बिएको अवस्थामा आफ्ना सदस्यहरुलाई आवश्यकता अनुसार आर्थिक तथा अन्य सहयोग गर्ने गरी तयारी भइरहेको प्रेस चौतारीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij