२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रुपन्देहीमा अवैध काठ बरामद

सोमवार , जेठ १०, २०७८

भैरहवा, १० जेठ । 
रुपन्देही प्रहरीले भैरहवा र सैनामैनाबाट अवैध काठ बरामद गरेको छ । प्रहरीले सिद्धार्थनगर नगरपालिका–४ स्थित एअरपोर्टबाट अनलोड गरेको अवस्थामा उक्त काठ बरामद गरेको हो । प्रहरी टोलीले फेला पारी चेकजाँच गर्दा कागजात फेला नपारेपछि उक्त काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

डीएसपी थापाका अनुसार शनिबार राति जिल्लाको मर्चवार गाउँपालिकास्थित पिपरहवाबाट सिद्धार्थनगर नगरपालिका–११ का रसुल मिया र कोटहीमाई गाउँपालिका–६ का जितेन्द्र यादवले लु ३ प ८६८४ नम्बरको ट्याक्टरमा सिसौ जातको गुलिया काठ लोड गरी ल्याएका थिए । बरामद गरिएको ६३ गोलिया काठ, पक्राउ परेका रसुल र जितेन्द्र तथा ट्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन कार्यालय रुपन्देहीले पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

त्यस्तै प्रहरीले सैनामैना नगरपालिका–५ स्थित वालापुरबाट अवैध काठ बरामद गरेको छ । बालापुरस्थित कच्ची सडकमा लु १ च ८२१३ नम्बरको बलेरो जिपमा अवैध रुपमा सालका काठ काटी लोड गरेको अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

अवैध रुपमा सालका काठ काटी चोरी निकासी हुँदैछ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट प्रहरी निरीक्षक दिवाकर रिजालको कमाण्डमा खटेको प्रहरी टोलीले चिरान काठ ३३ पिस (३६.६१ क्यू फिट) बरामद गरी वालापुरका बिष्णु थारु र दिनेश थारु समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेका व्यक्ति, जीप र काठ आवश्यक कारवाहीका लागि सैनामैना सव डिभिजन कार्यालय मुर्गिया रुपन्देही पठाइएको प्रहरीको भनाइ छ ।