
शुक्रवार , जेठ ७, २०७८
बुटवल, ७ जेठ ।
कोभिडको महामारी छ । बिहान करिब साढे ६ बजे जब ९८५७०६०२२७ नम्बरको मोबाइलमा घण्टी बज्छ ‘हस् हजुर म तयार छु भन्नुस कहाँ जान पर्र्यो ।’ खुशीले हस् आउँछु भनेको सुनेर परैबाट श्रीमती विन्दुले पनि मुस्कुराउँदै टाउको हल्लाउँदै ‘हस् सुरक्षित भएर जानु ल स्वास्थ्यको ख्याल राख्नु’ भन्दै विदा गर्छिन् । यी मनकारी व्यक्ति हुन पाल्पा तानसेनका यादव सिंह कार्की ।
अहिलेको कोभिड महामारीकाबीच पाल्पा, तानसेनस्थित सिल्खानटोल निवासी समाजसेवी कार्कीको दिनचर्या नै आजभोली यसरी बितेको छ । कतै कोरोना पोजेटिभलाई हस्पिटल पुर्याउने, कहिले हस्पिटलबाट घर त कहिले शव लिएर घाटसम्म पुग्नु उनको दैनिकी नै बनेको छ । खासगरी ३ वटा काम गर्छन, उनी । बिरामीलाई अस्पताल पुर्याउँछन् डिस्चार्ज भएपछि घर पुर्याउँछन् र निधन भएपछि घाट पुर्याउँछन् ।
पाल्पामा ढाकाको व्यापार व्यवसाय गर्दै आएका कार्की विभिन्न सामाजिक संघ–संस्थामा क्रियाशिल समेत रहेका छन् । केही समय यता कोरोना कहरको दोस्रो लहरका कारण अस्पतालहरु बिरामीले खचाखच् भरिएका छन् । आवश्यक परेका बेला न एम्बुलेन्स पाइन्छ न त शववाहन नै । यस्तो समयमा जोखिम मोल्दै बिरामीहरुको सेवामा अनवरत रुपमा खटिएका हुन्छन् कार्की र उनलाई हौसला थपेकी छन् उनकी श्रीमती विन्दु कार्कीले ।
एकदिन बिहानै तानसेन नगरपालिका वडा नम्बर ७ काजीपौवा निवासी ४९ वर्षिय महिलाकोे कोभिड संक्रमणका कारण मृत्यु हुन्छ । शव लिएर घाट जान शवबाहन पाउन सकेनन् । सबैतिर आफ्तहरुले फोन घुमाए तर कतै केही नलागेपछि यादवलाई फोन गयो । उनले मन्जुरीका साथ हुन्छ भनेपछि श्रीमती गुमाउनुको पीडा त छदै थियो, शव व्यवस्थापन गर्न नपाउँदा निकै आत्तिएका मृतकका परिवारमा सन्तोष छायो ।
फोनमा कुरा भए अनुसार कार्की आए, अनि शव लिएर राम्दीघाट पुगेर फर्किए । कार्कीले यसरी निस्वार्थ भावले सेवा गरेको आज १६ औं दिन भइसक्यो । गत वैशाख २२ गतेदेखि उनि अस्पताल पुग्न नपाएका बिरामी र घाट पुग्न नसकेका शवको व्यवस्थापनका लागि घाटसम्म पुर्याउँदै गर्दै आएका छन् । यसका लागि उनी आफ्नो निजी सवारीसाधन प्रयोग गर्छन् । गाडीमा पेट्रोल आफै भर्छन् । उनी भन्छन्–‘कसैकसैले विनम्रताका साथ तेल पेट्रोल हाल्दिछन् । मेरोे उद्देश्य नै यो विषम परिस्थितिमा र अफ्ठ्यारोमा परेकाहरुको सेवा गर्नु हो ।’
केही समय अघि फेसबुकमा एउटा भिडियो भाइरल बन्यो, जब पुर्वी नवलपरासीमा एउटा बिरामी अन्य सवारीसाधनको अभावमा ट्याक्टरमा राखेर अस्पताल पुयाउँदै गर्दा मृत्यु हुन्छ । यो घटनाले उनीहरुलाई छुन्छ । हामी पनि त केही गर्न सक्छौ नि भन्दै मास्क, सेनिटाइजरमा नै उनले कोरोना पोजिटिभको उद्दार गरे अनि बल्ल पाए व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) । अहिले पीपीई लगाएर दिनमा ३/४ वटासम्म बिरामीको उद्दार र शवको व्यवस्थापन उनी गरिरहेका हुन्छन् ।
पाल्पा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष समेत रहेका कार्की समाज सेवाको भावनाले कोरोना संक्रमण भएका बिरामीलाई निजी गाडीमा अस्पतालसम्म पुर्याउन सुरु गरेका हुन् । एम्बुलेन्सको अभाव भएको भन्दै कार्कीले आफ्नै गाडीमा संक्रमित बिरामीलाई सेवा दिँदै आएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘कोही पनि कोरोना पोजेटिभ देखिएकाले अस्पतालमा जानका लागि एम्बुलेन्स र गाडी पाउनु भएन भने म सेवा गर्न तयार छु । उच्च मनोबल बनाउ कोरोना भगाउ, सम्पर्क नम्बर ९८५७०६०२२७ र ९८५७०३३७२५ छ’ भनेर सम्पर्कका लागी आग्रह समेत गरेका छन।
कार्की दम्पतिले यस कार्यलाइ निरन्तरता दिँदै भविष्यमा पनि अप्ठ्यारोमा परेकाहरूलाइ निरन्तर सेवा दिँदै जाने बताए । ‘सेवा नै धर्म हो’ भन्ने भावले प्रेरित भएका कार्कीले कोही पनि बिरामी अस्पतालसम्म जान र आउनबाट वञ्चित हुन नपरोस् भनेर संक्रमण रोगको प्रवाह नगरी सेवामा लागेको बताए । आजसम्म ७० भन्दा बढी कोरोना पोजेटिभहरु उनका आफन्तको समेत सेवा गरिसकेका कार्की अस्पतालदेखि घाटसम्म ३ वटा शव आफै पुर्याएको बताउँछन् ।
पाल्पाको जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमाको क्रिमसन हस्पिटल लगाएतका अस्पतालहरुमा उनी पटकपटक पुगिसकेका छन् । कोभिड–१९ को पहिलो लहरमा कोरोना संक्रमित हुन पुगेका कार्की सबैलाई हौसला दिदै आत्मबल बलियो बनाउ, कोरोना भगाऔं भन्दै सुझाव समेत दिने गरेका छन्।
श्रीनगर लायन्स क्लबका अध्यक्ष समेत रहेका कार्की अहिले खाली सिलिण्डर संकलन गर्ने र भर्ने अभियानमा समेत जुटेका छन् । हालसम्म २ सय ८७ वटा संकलन गरी भरेर अस्पतालमा पुर्याउने काममा पनि उनी १४ वटा लायन्स क्लबसंगै अग्रपंक्तिमा रहेर खटेको बताउँछन् ।
संचारकर्मी समेत रहेकी विन्दु भन्छिन्–‘कोरोना कहरले कुनै संचारकर्मीको चुलो बल्न मधुरो भएमा वा अन्य केही अभाव भएको खण्डमा एक कल गुर्नस् सेवामा हाजिर छौं । कार्की दम्पतिको जस्तै मनकारी दिल फुकाएर सबैले सेवा गर्ने हो भने न त कोही खान नपाएर भोकै बस्नु पर्छ न त अस्पताल पुग्न नपाएर अकालमा ज्यान गुमाउन । निस्वार्थ भावले सेवा गरौं आज नगरे कैले गर्ने, हामीले नगरे कस्ले गर्ने भनाई यी दम्पतिले चरितार्थ गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij