सोमवार , भाद्र २९, २०८३
पश्चिम नवलपरासी, २९ भदौ । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत ४०० केभी न्यु बुटवल सबस्टेसन–पश्चिम नवलपरासी देखि नेपाल–भारत सीमासम्म जोड्ने सीमापार प्रसारण लाइन निर्माणको काम तोकिएकै समयमा सम्पन्न भइ हस्तान्तरण गरिएको छ ।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले शिलान्यास भएको ९ महिनाभित्रै पश्चिम नवलपरासीको सुनवल–१३ सूर्यवस्तीदेखि भारतीय सीमासम्मको १८ किलोमिटर खण्डमा ५३ वटा टावर निर्माण गरी काम पूरा गरेको हो ।
९ महिनामै नवलपरासी खण्डको काम पूरा
प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा नवलपरासीको सुनवल सुर्यबस्तीमा आयोजित एक कार्यक्रमकाबीच नवलपरासी खण्ड निर्माणको काम सकिएसँगै औपचारिक हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपालका अध्यक्ष डा. घनश्याम उपाध्यायले नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीले ऊर्जा क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको बताउनुभयो ।
त्यस्तै एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले नेपालको उर्जा व्यापारमा यो महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँले साझा लक्ष्यका लागि एकजुट भएर काम गर्दा सकारात्मक परिणाम हासिल हुने पुष्टि भएको बताउनुभयो ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुनिल पौडेलले समयमै प्रसारण लाइन निर्माण हुनुले विद्युतीय पूर्वाधार सुदृढ गर्ने र सीमापार विद्युत् सम्पर्क विस्तार गर्ने नेपालको प्रयासलाई प्रमाणित गरेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यो सुदृढ विद्युत् सञ्जालबाट नेपाल र भारतबीच ऊर्जा व्यापारका बृहत् लाभ हासिल गर्न नेपाल थप सक्षम बनेको धारणा राख्नुभयो ।
बाँकी प्रक्रिया र आगामी योजना
नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन खण्ड पूरा भएसँगै सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए–नेपालले गर्नुपर्ने भौतिक निर्माण कार्य पूर्ण रूपमा सकिएको छ । अब उक्त प्रसारण लाइनमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याउनुअघि नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक प्राविधिक कार्य तथा प्रशासनिक स्वीकृतिका बाँकी प्रक्रिया अगाडि बढाइनेछ ।
उक्त प्रसारण लाइनको शिलान्यास गत वर्षको मंसिरमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा गर्नुभएको थियो । प्रसारण लाइन निर्माणका लागि हालसम्म झण्डै १ अर्ब २४ करोड रुपैयाँ बराबरको मुआब्जा वितरण भइसकेको छ भने बाँकी जग्गाको मुआब्जा वितरण प्रक्रियामा रहेको छ।
समग्र एमसीसी परियोजनाअन्तर्गत नेपालमा ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै प्राविधिक सहयोगका कार्यहरू जारी छन् । जसमध्ये अन्तरदेश जोड्ने यो प्रसारण लाइन पहिलो सफल खण्डका रूपमा सम्पन्न भएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij