२०८३, भाद्र २८ गते

Sep 13 2026 | २०८३, भाद्र २८ गते

बाढीप्रभावित पत्रकारलाई लुम्बिनी प्रेस क्लबको एकलाख सहयोग

आइतवार , भाद्र २८, २०८३

  • 418
    Shares
  • 418
    Shares
  • भैरहवा, २८ भदौ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पत्रकारहरुलाई राहतका लागि आर्थिक सहयोग गरेको छ । बाढीमा परी दिवंगत भएकाहरूको चिरशान्तिको कामना गर्दै क्लबले शनिबार साँझ भैरहवाको बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम गरी सहयोग रकम पनि हस्तान्तरण गरेको हो।

    नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमार्फत १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको क्लबका कोषाध्यक्ष विष्णु प्रसाद भट्टराईले बताउनुभयो । उक्त सहयोग रकम महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलमार्फत हस्तान्तरण गरिएको हो ।

    क्लबका अध्यक्ष कमल रायमाझीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा बाढीका कारण कयौं पत्रकार अझै हराइरहेको बताउनुभयो । कति पत्रकारको धनसम्पत्ति सबै बाढीले बगाएको छ भने केहीको परिवार र सञ्चार उपकरण (सामग्री) पनि बगाएको छ । यस्तो बेला व्यवसायिक नाताले तत्काल पत्रकारहरुलाई थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको रायमाझीले बताउनुभयो ।

    त्यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले विपद्मा परेका पत्रकारहरुको लागि राहत रकम उपलब्ध गराएकोमा लुम्बिनी प्रेस क्लबप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्तो प्राकृतिक प्रकोपमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    क्लबका महासचिव प्रकाश न्यौपानेले पत्रकारहरुले आफ्नो गक्षअनुसार सहयोग रकम जुटाएर महासंघमार्फत पत्रकार, उनीहरुका आश्रित परिवारलाई उपलब्ध गराउने गरी हस्तान्तरण गरिएको बताउनुभयो । सरकारी राहत सम्बन्धित ठाउँमा पुग्ने भए पनि तत्काल केही राहत होस् र विपत्तीमा परेका पत्रकार तथा उनीहरुका परिवारलाई सानो भए पनि सहयोग मिलोस् भनेर क्लबले सहयोग रकम हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले मानवीय सेवाको काममा क्लबले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । दीप प्रज्वलन कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।