२०८३, भाद्र २८ गते

Sep 13 2026 | २०८३, भाद्र २८ गते

सुस्ताबासीको ‘ठूलो मन’ : भोटेकोशीका बाढीपीडितलाई सहयोग

आइतवार , भाद्र २८, २०८३

  • 202
    Shares
  • 202
    Shares
  • पश्चिम नवलपरासी, २८ भदौ । आकाशमा मडारिएका काला बादल र उर्लिएर आउने नारायणीको धमिलो बहाव देख्दा अहिले पनि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्तावासीको छाती ढुकढुक गर्छ । विगत एक महिनादेखि नारायणी नदीको निरन्तर कटान र डुबानका कारण को सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित ‘सुस्ता पारी गाउँ’ का बासिन्दा आफै ठूलो संकट झेलिरहेका छन् ।

    आफ्नै आँखाअगाडि खेतबारी नदीमा विलीन भइरहँदा सुस्ताबासीको मन भने अरूकै पीडामा पग्लियो । आफू संकटको भुमरीमा छटपटाइरहँदा पनि सुस्ताबासीले भोटेकोशी क्षेत्रका विनाशकारी बाढी–पहिरोपीडित दाजुभाइ तथा दिदीबहिनीको आँसु पुछ्ने प्रयास गरेका छन् ।

    सुस्तामा संकलन गरिएको यो सहयोग रकम कुनै उद्योगी वा धनाढ्यको तिजोरीबाट निस्किएको होइन । यो त छाक टार्न र बिरामी पर्दा औषधि–मुलो गर्नेसमेत धौ–धौ परेका सर्वसाधारण सुस्ताबासीको पेट काटेर जोडिएको चोखो माया हो । कसैले आफ्नो खल्तीमा बचेको ५० रुपैयाँ निकाले, कसैले १ सय रुपैयाँ त कसैले आफ्नो तागतअनुसार थोरै–थोरै सहयोग रकम जुटाए।

    आफ्नै घरमा परिवारलाई खुवाउने औषधि किन्ने पैसा अभाव भइरहेका बेला पनि भोटेकोशीका बाढीपीडितको सहारा बन्न अघि सरेका सुस्ताबासीले एउटा दूरगामी सन्देश दिएका छन्–‘आफू पीडामा भएर पनि अरूको घाउमा मलम लगाउनु नै सुस्तावासीको वास्तविक पहिचान र देशभक्ति हो ।’

    गाउँभरी स्वेच्छिक रूपमा संकलन गरिएको कुल ४३ हजार ५ सय ५५ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, विनय त्रिवेणी शाखामार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

    सहयोग संकलन अभियानका अभियन्ताहरूका अनुसार यो रकम भोटेकोशीका बाढीपीडित नागरिकहरूसम्म पुगोस् भन्ने मूल उद्देश्य राखिएको छ । रकमको आकार सानो भए पनि विपद्को यस दुःखद घडीमा जहाँ–जहाँ नेपाली पीडामा छन्, त्यहाँ–त्यहाँ हामी सबैले एकापसमा सहयोगको हात बढाउनुपर्छ भन्ने आत्मीय सन्देश फैलाउनु नै यसको मुख्य ध्येय हो।

    आफै विपद्को मारमा परेर पनि अरूको दुःखमा सारथी बन्ने सुस्ताबासीको यो अनुकरणीय कदमले मानवताको पाठ सिकाएको छ ।