२०८३, भाद्र २५ गते

Sep 10 2026 | २०८३, भाद्र २५ गते

ग्यासको लागी भोकभोकै लाइन कहिलेसम्म बस्नुपर्ने हो सरकार ? : नेकपा सांसद

बिहिवार , भाद्र २५, २०८३

  • 94
    Shares
  • 94
    Shares
  • काठमाडौँ, २५ भदौ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले ग्यास अभावका कारण नागरिकले भोग्नुपरेको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

    बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले सुत्केरी श्रीमतीलाई खाना पकाएर खुवाउन ग्यास नपाएपछि एक युवाले आत्महत्याको प्रयास गरेको घटनासमेत उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । काठमाडौंलगायत विभिन्न स्थानमा विद्यार्थी तथा सर्वसाधारणले खाना पकाउने ग्यास नपाएर सांसदहरूलाई फोनमार्फत सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाई छ ।

    आपूर्ति व्यवस्थापनमा देखिएको कमजोरी र लापरवाहीप्रति प्रश्न उठाउँदै सरकारसँग तत्काल समस्या समाधान गर्न माग गर्नुभयो । पानीमा भिज्दै सिलिन्डर बोकेर ग्यासको लाइनमा बस्नुपर्ने अवस्था कहिलेसम्म रहने उहाँको प्रश्न छ । उहाँले जेन्जी आन्दोलनका आधारमा बनेको सरकारमाथि पनि नागरिकमा निराशा बढ्दै गएको बताउनुभयो । हिजो ‘बोल्न देऊ सरकार’ भन्दै आन्दोलन गर्नेहरूले नै सरकारमा पुगेपछि प्रश्न उठाउनेहरूप्रति खबरदारीको भाषा प्रयोग गर्न थालेको उहाँको आरोप छ । संविधानले सुनिश्चित गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै व्यक्तिविशेषलाई हेरेर नभई सबै नागरिकका लागि समान रूपमा हुनुपर्ने उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो, ‘ग्यास अभाव भएर सुत्केरी श्रीमतीलाई खानासम्म खुवाउन नसक्ने अवस्था सिर्जना भएको नैतिक जिम्मेवारी सम्बन्धित मन्त्री र सरकारको हो कि होइन ? आज काठमाडौँ लगायत स्थानमा कोठाभाडामा लिएर विभिन्न प्रयोजनले बसेका विद्यार्थी लगायत कैयौँ व्यक्तिहरूले ग्यास कतै नपाएकोले पहल गरिदिनुपर्यो भन्दै सांसदहरूलाई मोबाइलमा फोन गर्नुपर्ने अवस्था आउनु आपूर्ति मन्त्रीको लापरवाही र कमजोरी केले छोप्ने ? पानीमा भिज्दै सिलिन्डर लिएर विद्यार्थी र सर्वसाधारण नागरिकहरूको लाइन कहिलेसम्म भोकभोकै लागिराख्नुपर्ने हो सरकार ? सभामुख महोदय, आज यस्तो निराशाको वातावरण किन सिर्जना हुँदैछ ? हिजो बोल्न देऊ सरकार मलाई भन्नेहरू आएका आएकाहरू नै आज सरकारको नेतृत्वमा हुनुहुन्छ ।

    आज सरकारमा प्रतिनिधिहरू प्रश्न गर्नेहरूलाई सभाबाट खबरदारीको भाषा प्रयोग गर्दै गरेको सुनियो । जनताका अगाडि कसैको झूठ अभिव्यक्ति र धम्की टिक्ने छैन । खबरदार, संविधानले व्यवस्था गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै विशिष्ट व्यक्तिको अनुहार हेरेर राखिएको होइन । यो हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ ।’

    उहाँले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा कैलालीका विभिन्न स्थानका ३४ जना मैलुङ खोला हाइड्रोपावरको २१६ नम्बर ड्यामबाट बेपत्ता भएको उल्लेख गर्दै उनीहरूको तत्काल खोजी तथा उद्धार कार्य तीव्र बनाउन सरकारसँग माग गर्नुभयो ।