२०८३, भाद्र २५ गते

Sep 10 2026 | २०८३, भाद्र २५ गते

फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको छ : महानिर्देशक सिंह

बिहिवार , भाद्र २५, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • काठमाडौँ, २५ भदौ । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले सर्वोच्च अदालतबाट भएका फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको बताउनुभएको छ । 

    बिहीवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्चले फैसला गरिसकेपछि पनि विभिन्न निकायहरुसँग राय माग्ने प्रवृत्तिले फैसला कार्यान्वयनमा ढिलाइ हुने गरेको बताउनुभयो ।

    सर्वोच्चले गरेको फैसला हुबहु कार्यान्वयन हुनुपर्नेमा किस्ताबन्दीमा कार्यान्वयन गर्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ । महानिर्देशक सिंहले फरार कैदी तथा व्यक्तिलाई पक्राउ गरी बाँकी कैद असुली गर्ने कार्यलाई प्रभावकारी बनाउन प्रहरीलाई दिइने पुरस्कार रकम बढाउनुपर्नेमा प्रश्ताव गरिएको पनि बताउनुभयो ।  उहाँले फैसला कार्यान्वयन निर्देशनालयमा कार्यरत कर्मचारीले फरार कैदीको खोजी तथा फैसला कार्यान्वयनका लागि लागिपरेको भएपनि त्यसअनुसारको प्रोत्साहनको व्यवस्था नभएको गुनासो गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले फैसला गर्छ । संविधान र मौजुदा कानूनमा पनि त्यही व्यवस्था छ । तर कानून मन्त्रालयसहितका निकायहरुले समेत राय माग्नुहुन्छ । सुप्रिम कोर्टले बोलिसकेपछि त एकैचोटि कार्यान्वयन गर्ने हो । बरु कार्यान्वयनको मोडालिटी बनाउने हो । राय माग्नको लागि पनि समिति गठन गर्नुहुन्छ ।

    समिति गठन गर्दाखेरि पनि फेरि किस्ताबन्दीमा कार्यान्वयन गर्नुहुन्छ । त्यसैले सर्वोच्च अदालतले आदेश अथवा फैसला गरेपछि ती कुरा त हुबहु कार्यान्वयन गर्नुपर्छ । सरकारी वकिलसँग राय माग्नुभन्दा सरकारी वकिलले बहसकै क्रममा, लिखित जवाफकै क्रममा केही कुरा राखेको भए जाती हुन्थ्यो । पछि आएर राय माग्नु त त्यति तुक होइन जस्तो लाग्छ हजुरको। कार्यान्वयन गरिदिए राम्रो हुन्थ्यो ।’

    उहाँले सर्वोच्चले गरेका फैसला कार्यान्वयनका लागि न्यायिक प्रहरीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।