बुधवार , भाद्र २४, २०८३
पाल्पा, २४ भदौ । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर २ स्थित मैदानमा रहेको कमला आधारभूत विद्यालयले आगामी पुस १४ गते स्वर्ण जयन्ती मनाउँदैछ । स्वर्ण जयन्तीलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले तयारीलाई तीव्रता दिइएको छ । स्वर्ण जयन्ती समारोहलाई सफल बनाउन विभिन्न क्षेत्रको जिम्मेवारी बाँडफाँड गर्दै १३ वटा उपसमिति गठन गरिएको छ ।
मैदान टोल विकास समितिका अध्यक्ष खडकसिं बारघरेको अध्यक्षतामा आइतबार बसेको बैठकले स्वर्ण जयन्ती समारोहको तयारी तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्दै विभिन्न निर्णय गरेको हो ।
बैठकमा वडा सदस्य खेमबहादुर घर्ती, कमला आधारभूत विद्यालयका प्रधानाध्यापक मोहनबहादुर रखाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम घर्ती, अभिभावक संघका सम्पूर्ण पदाधिकारी, स्थानीय जनसमुदाय, स्थानीय युवा, विभिन्न क्लबका प्रतिनिधि तथा विद्यालय परिवारको सहभागीता थियो ।
बैठकले स्वर्ण जयन्तीलाई केवल विद्यालयको कार्यक्रमका रूपमा नभइ सम्पूर्ण स्थानीय समुदायको गौरव र साझा उत्सवका रूपमा मनाउने गरी तयारी अघि बढाउने निर्णय गरेको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न क्षेत्र हेर्ने गरी जिम्मेवारीसहितका उपसमिति गठन गरिएको हो ।
स्वर्ण जयन्ती तयारीका लागि जिम्मेवारी बाँडफांड गरिएको छ । जसअन्तर्गत मूल समारोह समितिको संयोजकमा खेमबहादुर घर्ती, आर्थिक तथा साँस्कृतिक व्यवस्थापन संयोजकमा रनबिर बराल, स्वर्ण स्तम्भ तथा स्मारिका संयोजकमा खेमबहादुर घर्ती, अतिथि सम्मान, आवास तथा भोजन व्यवस्थापन संयोजकमा तिलसिं घर्ती, स्वयंसेवक व्यवस्थापन संयोजकमा नरबहादुर जर्घा र सरसफाई व्यवस्थापन संयोजकमा चन्द्रसारा रखाल रहनुभएको छ ।
त्यसै गरी कार्यक्रमको आवश्यकता र जिम्मेवारीअनुसार बाँकी उपसमितिहरूमा पनि संयोजक तथा सदस्यहरू चयन गरी कुल १३ वटा जिम्मेवार उपसमितिमार्फत स्वर्ण जयन्ती तयारीलाई अगाडि बढाउने निर्णय गरिएको छ ।
स्वर्ण जयन्ती समारोहमा विद्यालयको विगत, वर्तमान र भावी योजनालाई समेट्दै विद्यालयको शैक्षिक, सामाजिक तथा साँस्कृतिक योगदानलाई उजागर गर्ने, पूर्वविद्यार्थी, पूर्वशिक्षक, अभिभावक, स्थानीय समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई जोड्ने र विद्यालयको विकासका लागि सामूहिक प्रतिबद्धता निर्माण गर्ने लक्ष्य राखिएको छ ।
बैठकले समारोहलाई सफल बनाउन विद्यालय परिवारसँगै स्थानीय समुदाय, युवा, विभिन्न क्लब, अभिभावक तथा शुभेच्छुक सबैलाई सक्रिय सहभागीताका लागि आह्वान गरेको छ । स्वर्ण जयन्तीलाई ऐतिहासिक र स्मरणीय बनाउन सबै पक्षको सहकार्य र एकताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij