मंगलवार , भाद्र २३, २०८३
बुटवल, २३ भदौ । रोटरी क्लब अफ बुटवल चौतारीले रुपन्देहीको शुद्धोदन गाउँपालिका–३, बेतहीस्थित शंकर माध्यमिक विद्यालयका दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै विद्यालयलाई स्वच्छ खानेपानी प्रणाली हस्तान्तरण गरेको छ ।
क्लबको विद्यालयसँग सहकार्य कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा कक्षा ९ मा अध्ययनरत एन्जेल चापागाईं र कक्षा ८ का प्रशान्त खनाललाई शैक्षिक सत्र २०८३ का लागि कुल ३६ हजार ८ सय रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्तिसँगै दुवै विद्यार्थीलाई कापी, कलम, झोला लगायतका शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको क्लबले जनाएको छ ।
विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब २ लाख रुपियाँ मूल्य बराबरको पानी छान्ने यन्त्र र पानी चिस्याउने यन्त्रसहितको खानेपानी प्रणालीसमेत हस्तान्तरण गरिएको छ । उक्त प्रणालीबाट विद्यालयमा स्वच्छ तथा चिसो खानेपानीको सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमका लागि पथिक फाउण्डेशन रुपन्देहीले ५१ हजार रुपैयाँ सहयोग गरेको थियो । फाउण्डेशनले क्लबका अन्य सामाजिक तथा सेवामूलक गतिविधिमा समेत सहयोग गर्दै आएको क्लबले जनाएको छ ।
कार्यक्रममा रोटरीका अगुवा ओम जैसीले विद्यार्थीलाई छात्रवृत्ति र विद्यालयलाई खानेपानी प्रणाली उपलब्ध गराउने कार्यको प्रशंसा गर्नुभयो । उहाँले यस्ता सेवामूलक गतिविधिले शैक्षिक वातावरण सुधारमा सहयोग पुग्ने बताउनुभयो ।
क्लबका अध्यक्ष बासुदेव भुसालले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत समुदायका आवश्यकताका आधारमा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंकप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । त्यस्तै क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा क्लबका सचिव तथा कार्यक्रम संयोजक माधव पौडेलले यस्ता सामाजिक र रचनात्मक कार्यक्रमहरु निरन्तर गर्दै जाने बताउनुभयो । कार्यक्रममा फाउण्डेशनका प्रशिक्षक धना पौडेल, अक्षयकोषदाता, शिक्षक, विद्यार्थी तथा अन्य गरी करिब दुईसय जनाको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij