शनिवार , भाद्र २०, २०८३
भैरहवा । नेपाली कांग्रेस रूपन्देहीको सिद्धार्थनगर सभापतिका उम्मेदवार देवराज न्यौपाने राजनीतिसँगै सामाजिक तथा धार्मिक क्षेत्रमा समेत लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। पार्टी संगठनभित्रको अनुभव र विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गरेको अनुभवलाई आधार बनाउँदै न्यौपानेले सिद्धार्थनगर कांग्रेसको नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ।
नेपाली कांग्रेस सिद्धार्थनगरको उपसभापतिको जिम्मेवारी सम्हाल्दै हाल कार्यवाहक नगर सभापतिका रूपमा पार्टीको जिम्मेवारी निर्वाह गर्दै आउनुभएका न्यौपानेले संकटका बेला पार्टीलाइ जोगाउनु भएको छ। पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा स्थानीय तहमा कांग्रेसको गतिविधिलाई सक्रिय बनाउन उहाँले भूमिका निर्वाह गर्दै आएको पार्टीपंतीमा चर्चा हुने गरेको छ।
राजनीतिसँगै न्यौपानेको सामाजिक क्षेत्रमा पनि लामो संलग्नता रहेको छ। उहाँले सिद्दाथनगर भित्र रहेका लुम्बिनी खुकुरी क्लबको अध्यक्ष, जेसीआई सिद्धार्थ नेपालको अध्यक्ष, लायन्स क्लब अफ होलिसिटीको अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी बेलहिया शाखाको अध्यक्ष तथा बेलहिया माध्यमिक विद्यालयको अध्यक्ष भएर जिम्मेवारी सम्हालिसक्नुभएको छ। विभिन्न संस्थाको नेतृत्वमा रहँदा सामाजिक सेवा, युवा परिचालन, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा काम गरेको उहाँको अनुभव छ।
विशेषगरी कोभिड–१९ महामारीको समयमा न्यौपाने आम नागरिकको सेवामा सक्रिय रहनुभएको थियो। महामारीका कारण सर्वसाधारण समस्यामा परेका बेला आवश्यक सहयोग तथा सामाजिक सेवाका गतिविधिमा उहाँको सक्रियता निकै प्रसंम्सनिय थियो। संकटका समयमा नागरिकसँग प्रत्यक्ष जोडिएर काम गरेको अनुभवले आफूलाई जनताको समस्या बुझ्न थप सहज भएको न्यौपानेको धारणा छ।
न्यौपाने सामाजिक संस्थासँगै धार्मिक संघसंस्थामा समेत सक्रिय रहँदै आउनुभएको छ। धार्मिक, सामाजिक तथा सामुदायिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आउनुभएका न्यौपानेले विभिन्न समुदायबीच सहकार्य र सामाजिक सद्भाव कायम गर्नसमेत भूमिका निर्वाह गर्दै आएको बताइएको छ।
पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय रहेका न्यौपानेले सिद्धार्थनगर कांग्रेसलाई थप संगठित, क्रियाशील र जनतासँग जोडिएको संगठनका रूपमा अघि बढाउने लक्ष्यसहित सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो। उहाँले पार्टीभित्रका नेता तथा कार्यकर्ताबीच समन्वय बढाउँदै संगठनलाई वडा तहसम्म थप मजबुत बनाउने, युवाको सहभागिता बढाउने र कांग्रेसका गतिविधिलाई जनमुखी बनाउने विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो।
उहाँको उम्मेदवारीलाई राजनीतिकसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय व्यक्तिका रूपमा चर्चा गरिएको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij