२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

इरानमाथि थप आक्रमणका लागि अमेरिका तयार छ : राष्ट्रपति ट्रम्प

शुक्रवार , भाद्र १९, २०८३

  • 592
    Shares
  • 592
    Shares
  • काठमाडौँ, १९ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका जुनसुकै समयमा इरानमाथि थप सैन्य प्रहार गर्न तयार रहेको बताउनुभएको छ ।

    सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेना उच्च शतर्कतामा रहेको र आवश्यकताअनुसार सैन्य कारबाही अघि बढाउन सक्षम रहेको उल्लेख गर्नुभयो । ‘गएराति निकै ठूलो आक्रमण गरिएको थियो र हामी जुनसुकै बेला अर्को आक्रमण गर्न तयार छौँ ।’ ट्रम्पले भन्नुभयो, ‘हर्मोज स्ट्रेट नजिकै इरानले निर्माण गर्न खोजेका सबै नयाँ सैन्य उपकरणहरू हामीले नष्ट गरिदिएका छौँ ।’
    यसैबीच, इरानी अधिकारीहरूले मंगलबार राति भएको अमेरिकी हवाई आक्रमण दक्षिणी इरानमा आयोजना भइरहेको एउटा वैवाहिक समारोहमा परेको दाबी गरेका छन् । इरानकाअनुसार उक्त घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्तिहरू घाइते भएका छन् । 

    अमेरिकी सेन्ट्रल कमाण्डले उक्त रिपोर्टबारे अनुसन्धान भइरहेको जनाएको छ । यद्यपि, अमेरिकी सेनाले कहिल्यै पनि सर्वसाधारणलाई निशाना नबनाउने दाबी समेत कमाण्डले गरेको छ । 
    रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग ‘हर्मोज स्ट्रेट’को नाम परिवर्तन गरी आफ्नै नामबाट ‘ट्रम्प स्ट्रेट’ राख्ने विषयमा सोधिएको प्रश्नमा ट्रम्पले त्यसलाई अस्वीकार गर्नुभएको छ । पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो, ‘होइन, होइन... त्यो कुरा त्यसै आएको मात्र हो ।’

    यसअघि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै उक्त जलमार्ग अमेरिकाको नियन्त्रणमा रहेकाले यसको नाम परिवर्तन गर्ने प्रश्ताव गर्नुभएको थियो । उहाँले लेख्नुभएको थियो, ‘अब यो अमेरिकाको नियन्त्रणमा छ, के हामीले हर्मोज स्ट्रेटको नाम परिवर्तन गरेर ट्रम्प स्ट्रेट राख्नुपर्छ ?’

    ट्रम्पले गत महिना लङ आइल्याण्डमा आयोजित एक ¥यालीमा समेत हर्मोज स्ट्रेटलाई अमेरिकी क्षेत्र घोषणा गर्ने अभिव्यक्ति दिनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । क्यानाडासँगको भन्सार विवादका बीच ट्रम्पले केही समयअघि मात्र ‘लेक अन्टारियो’को नाम परिवर्तन गरी ‘लेक अमेरिका’ राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।