२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

बुबाको स्मृतिमा शर्माद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

शुक्रवार , भाद्र १९, २०८३

  • 247
    Shares
  • 247
    Shares
  • पश्चिम नवलपरासी, १९ भदौ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५, परासीका निवासी अनिल शर्माले देशका बाढीपीडितहरूको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

    संस्कृति सम्पदा संरक्षण महाअभियान पश्चिम नवलपरासीका संयोजकसमेत रहनुभएका शर्माले आफ्ना स्वर्गीय बुबा दामोदर शर्माको सम्झनामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ११ रुपैयाँ जम्मा गर्नुभएको हो ।

    पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै शर्माले उक्त सहयोग रकम कोषमा जम्मा गरेको औपचारिक जानकारी गराउनुभयो । प्राकृतिक विपत्तिका कारण धेरै नागरिकले ज्यान गुमाउनुका साथै घरबारबिहीन हुनुपरेको यस दुःखद घडीमा थोरै भए पनि मलम लगाउने उद्देश्यले आफूले उक्त सहयोग गरेको उहाँले बताउनुभयो ।

    सोही अवसरमा बोल्दै उहाँले विपद्को यस कठिन परिस्थितिमा मानवीय दायित्व सम्झेर स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सहयोगका लागि हातेमालो गर्न हार्दिक अपील समेत गर्नुभयो । शर्माले भन्नुभयो–‘विपद् बाजा बजाएर आउँदैन, यस्तो बेलामा हामी सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु नै साँचो अर्थमा मानव धर्म हो ।’

    शर्माको यो कदमले समाजमा विपद्को बेला एक-अर्कालाई सहयोग गर्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ र अन्य व्यक्तिहरूलाई पनि परोपकारी कार्यमा जोडिन प्रेरित गरेको छ ।