२०८३, श्रावण २४ गते

Aug 09 2026 | २०८३, श्रावण २४ गते

ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलमा ‘असल अभिभावकत्व’ कार्यशाला सम्पन्न

आइतवार , श्रावण २४, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • बुटवल, २४ साउन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, नहरपुरस्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलमा अभिभावकलाई लक्षित गरी सञ्चालन गरिएको ‘असल अभिभावकत्व कार्यशाला’ आइतबार सम्पन्न भएको छ । साउन १८ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यशालामा पीजीदेखि कक्षा १० सम्मका विद्यार्थीका अभिभावकहरूको उपस्थितिमा गरिएको हो ।

    बालबालिकाको शैक्षिक उपलब्धीसँगै उनीहरूको भावनात्मक, सामाजिक, नैतिक तथा व्यवहारिक विकासमा अभिभावकीय भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको कार्यशालामा लेखक तथा अनुसन्धानकर्ता रामचन्द्र श्रेष्ठले प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले बालमनोविज्ञान, सकारात्मक अभिभावकत्व, प्रभावकारी पारिवारिक संवाद, बालबालिकाको व्यवहार बुझ्ने तरिका, अनुशासन र स्वतन्त्रताबीचको सन्तुलन, प्रविधिको उचित प्रयोग तथा घरमै सिकाइमैत्री वातावरण निर्माणलगायतका विषयमा व्यवहारिक तथा जीवनोपयोगी ज्ञान र सीप प्रदान गर्नुभएको थियो ।

    कार्यक्रमका क्रममा विद्यालयका प्राचार्य शंकर भण्डारीले विशेष सम्बोधन गर्दै बालबालिकाको भविष्य निर्माणमा विद्यालय र परिवारको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले बालबालिकाको व्यक्तित्व, चरित्र, संस्कार, अनुशासन र जीवनमूल्यको आधार परिवारबाटै निर्माण हुने भएकाले अभिभावकले बालबालिकालाई समय, ध्यान, उचित मार्गदर्शन र सकारात्मक वातावरण प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयले केवल शैक्षिक ज्ञान प्रदान गर्ने संस्था मात्र नभइ परिवारसँग सहकार्य गर्दै बालबालिकाको समग्र विकासका लागि निरन्तर प्रयत्न गरिरहेको उल्लेख गर्नुभयो ।

    कार्यशालाका विभिन्न सत्रमा पीजी, नर्सरी, एलकेजी, यूकेजी तथा कक्षा १ देखि १० सम्मका अभिभावकहरू सहभागी भएका थिए । तहअनुसार सञ्चालन गरिएका सत्रहरूले अभिभावकलाई आफ्ना बालबालिकाको उमेर, आवश्यकता र विकासात्मक अवस्थाअनुसार व्यवहार, संवाद तथा मार्गदर्शन गर्ने विषयमा थप स्पष्टता प्रदान गरेको विद्यालयले जनाएको छ ।

    कार्यशालाप्रति सहभागी अभिभावकहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरूले बालबालिकालाई अनुशासनमा राख्ने परम्परागत शैलीभन्दा सकारात्मक, संवादमुखी र मनोवैज्ञानिक रूपमा संवेदनशील अभिभावकीय अभ्यास आवश्यक रहेको अनुभूति भएको बताएका छन् । साथै कार्यशालामा प्रस्तुत गरिएका व्यवहारिक उदाहरण तथा जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयवस्तुहरू दैनिक पारिवारिक व्यवहारमा उपयोगी हुने अभिभावकहरूको प्रतिक्रिया रहेको थियो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य शंकर भण्डारी, सह–प्राचार्य भीम बस्नेत,  संयोजकहरू, सम्बन्धित कक्षाका शिक्षक–शिक्षिका तथा अभिभावकहरूको सहभागीता थियो ।
    कार्यक्रमको आयोजना तथा व्यवस्थापनले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै ‘विद्यालय–परिवार साझेदारी’ को अवधारणालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा महत्वपूर्ण योगदान पु¥याएको विद्यालय प्रशासनले जनाएको छ । बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावक र विद्यालय दुवैको समान जिम्मेवारी रहने मान्यतालाई आत्मसात् गर्दै यस्ता जीवनोपयोगी तथा अभिभावक सशक्तिकरणका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने विद्यालयले जनाएको छ ।