२०८३, श्रावण १४ गते

Jul 30 2026 | २०८३, श्रावण १४ गते

जापानको कुमामोतोमा शक्तिशाली भूकम्पपछि सपिङ मलमा विस्फोट

बिहिवार , श्रावण १४, २०८३

  • 247
    Shares
  • 247
    Shares
  • काठमाडौं, १४ साउन । जापानको दक्षिण–पश्चिमी प्रान्त कुमामोतोमा शक्तिशाली भूकम्पपछि एक सपिङ मलमा भएको विस्फोटमा परी दुई महिलाको मृत्यु भएको छ ।

    स्थानीय सञ्चारमाध्यमकाअनुसार उक्त घटनामा अन्य एक व्यक्ति गम्भीर अवस्थामा रहेका छन् । कुमामोतो प्रान्तीय सरकारलाई उद्धृत गर्दै सार्वजनिक प्रसारक एनएचकेले जनाएअनुसार काशिमा शहरस्थित इयोन मल कुमामोतोबाट बुधवार बिहान स्थानीय समयअनुसार ४ बजेसम्म आठ जनाको उद्धार गरिएको छ ।

    उद्धार गरिएकामध्ये २० वर्ष उमेर समूहका दुई महिलालाई मृत घोषित गरिएको छ भने अर्का एक व्यक्तिको हृदयघातका कारण अवस्था चिन्ताजनक रहेको छ । अन्य पाँच जना घाइते भए पनि उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ । 

    भूकम्पका कारण ग्यास चुहावट भई विस्फोट भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् । यद्यपि, विस्फोटको यकिन कारणबारे अनुसन्धान भइरहेको छ।  

    जापान मौसम विज्ञान एजेन्सीकाअनुसार मंगलबार स्थानीय समयअनुसार दिउँसो ४ः२७ बजे कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।

    कुमामोतो प्रान्तीय प्रहरीका अनुसार भूकम्प लगत्तै मलमा रहेका करिव २०० ग्राहक र कर्मचारीहरू सुरक्षित रूपमा बाहिर निस्किएका थिए । विस्फोटको घटना मानिसहरू बाहिर निस्किएपछि भएको थियो ।

    प्रहरीले केही कर्मचारीहरू अझै पनि भवनभित्र फसिरहेको हुनसक्ने बताएको छ, तर उनीहरूको यकिन संख्या भने अझै खुल्न सकेको छैन । अहिले सो क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।