
सोमवार , जेठ ३, २०७८
परासी, ३ जेठ ।
नवलपरासीमा एकजना व्यक्तिले केराबाली काटेर नष्ट गरिदिएका छन् । केरा लगाइएको खेत आफनो जग्गा रहेको भन्दै तयार रहेको ११५ बोट केरा काटेर नष्ट गरिएका छन् । यो घटना पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ रतनगंजको हो ।
रतनगंजबासी सेराज मोमिनले ४ कठ्ठामा लगाएको केरामध्ये डेढ कठ्ठा खेत बिस्मिल्लाह मिँयाको भागमा परेकाले बिस्मिल्लाह मिँयाले पूर्व रिसईबि राखेर उक्त क्षेत्रफलको केरा काटेर नष्ट गरिदिएका छन् । सेराज र बिस्मिल्लाह दुवै पट्टिदार हुन् । केरा काटिएको क्षेत्रफलको विषयमा ती दुवै जनाबीच लामो समयदेखि विवाद चल्दै आएको थियो । केरा नष्ट भएको जग्गा सेराजको जोतभोगमा रहे पनि एक महिना अगाडी मात्र नापी हुँदा ४ कठ्ठामध्ये डेढ कठ्ठा क्षेत्रफल बिस्मिल्लाहको भागको रहेको नापीले पुष्टि भयो ।
नापी हुँदाको बखत बिस्मिल्लाहको भागमा परेको जग्गामा सेराजले लगाएको केरा बोट ठुलो भइसकेकाले उक्त बाली सेराजले काटेपछि मात्र बिस्मिल्लाहले सो जग्गा जोतभोग गर्ने भनी दुवै पक्षबीच सम्झौता समेत भएको थियो । तर बिस्मिल्लाहले गत वैशाख ३१ गते राति नै रिसईबि राखेर आफनो परिवारसहित उक्त क्षेत्रफलमा फल्न तयार रहेको ११५ बोट केरा काटेर ढालिदिए । केराबाली किन काटनु भयो भन्ने प्रश्नमा ‘मेरो जग्गामा परेकाले मैले काटेको बिस्मिल्लाह मिँयाले भने ।’
काटिएको केराबाली करिब १ लाख रुपैयाँको क्षति भएको र उक्त क्षतिपुर्ति भराउन पीडित सेराजले प्रहरी चौकी रामनगरमा निवेदन समेत दिएको जानकारी दिएका छ । यता प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको र दुवै पक्षबिच छलफलको माध्यमबाट हल निकाल्ने प्रयास भइरहेको जनाएको छ । यसरी केराबाली नष्ट गरिएपछि केरा उत्पादक संघ नवलरासीको पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij