सोमवार , श्रावण ११, २०८३
भैरहवा, ११ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित सिद्धार्थ बौद्ध गुम्बा परिसरमा निर्माण हुने बत्ती बाल्ने भवनको शिलान्यास गरिएको छ । सोमबार उक्त भवनको छोटेलाल यादव र सावित्रीदेवी यादवले शिलान्यास गर्नुभएको हो ।
छोटेलाल र सावित्रीदेवी वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) को पिता–माता हुनुहुन्छ । आफ्नो जन्मदिनको अवसरमा पिता–माताको हातबाट भवनको शिलान्यास गराउन पाउँदा खुसी लागेको वडाअध्यक्ष यादवले बताउनुभयो ।
उहाँले विगतमा पनि गुम्बाको पर्खाल, गेट लगायत निर्माण कार्यका लागि वडा कार्यालयले बजेट विनियोजन गरेको बताउनुभयो । अहिले बत्ती बाल्ने भवनको लागि ६ लाख रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । यसका लागि आफूलाई साथ दिने वडा कार्यालय परिवारप्रति उहाँले आभार व्यक्त गर्नुभयो । ‘धेरै बोल्ने भन्दा पनि काम गर्ने कुरामा विश्वास राखेर हामी अघि बढेका छौं । उहाँले भन्नुभयो–‘विकास निर्माण र जनताको समस्या समाधानतर्फ केन्द्रीत छौं । वडाबासीको साथ र सहयोगको निरन्तर अपेक्षा राखेका छौं ।’
सिद्धार्थ बौद्ध गुम्बाका अध्यक्ष बुद्ध बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, स्थानीयबासीलगायतको उपस्थिति थियो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij