सोमवार , श्रावण ११, २०८३
तुलसीपुर, ११ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले एमालेका पूर्व केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा दंगाली कम्युनिष्ट आन्दोलनका अग्रज नेता शोभाराम बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
दाङको तुलसीपुरस्थित एमाले पार्टी कार्यालयमा पुगेर मुख्यमन्त्री आचार्यले बस्नेतको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले बस्नेतले दाङको कम्युनिस्ट आन्दोलनलाई स्थापित र सुदृढ बनाउन पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको बताउँदै उहाँप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले बस्नेत निष्ठा, त्याग र समर्पणका प्रतीक नेता भएको उल्लेख गर्दै उहाँको निधनले दाङको सामाजिक, सांस्कृतिक तथा राजनीतिक आन्दोलनसँगै नेकपा (एमाले) ले अनुभवी अभिभावक गुमाएको बताउनुभयो ।
लामो समयदेखि विभिन्न रोगबाट पीडित बस्नेतको उपचारका क्रममा गएराति निधन भएको हो । उहाँ दाङको कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । पार्टी संगठन निर्माण, विस्तार तथा नयाँ पुस्तालाई कम्युनिष्ट आन्दोलनमा आबद्ध गराउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गरिएको छ ।
श्रद्धाञ्जली कार्यक्रमपछि बस्नेतको पार्थीव शरीरलाई शीतलपुर घाट लगेर अन्त्येष्टि गरिएको थियो । श्रद्धाञ्जली अर्पणमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij