२०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालबाट सुरु भयो ‘भिडा’ को अन्तर्राष्ट्रिय यात्रा

सोमवार , श्रावण ११, २०८३

  • 232
    Shares
  • 232
    Shares
  • भैरहवा, ११ साउन । हिरो मोटोकर्पको विद्युतीय दुईपांग्रे ब्राण्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ । नेपालबाटै अन्तर्राष्ट्रिय यात्रा सुरु गर्दै कम्पनीले नेपाली बजारमा भिडा भिएक्स–२ विद्युतीय स्कुटर श्रृंखला तथा भिडा डर्ट–ई के–३ विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको हो । यी उत्पादन नेपालमा सीजी मोटर्समार्फत विक्री–वितरण गरिनेछ ।

    कम्पनीका अनुसार नेपाली उपभोक्ताको आवश्यकता र सडक अवस्थालाई ध्यानमा राखेर अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता र स्मार्ट सुविधासहितका विद्युतीय सवारी बजारमा ल्याइएको हो । दैनिक प्रयोगका लागि उपयुक्त भिएक्स–२ स्कुटर दुई संस्करणमा उपलब्ध हुनेछ । यसमा लामो दूरी तय गर्न सक्ने ब्याट्री, छिटो चार्ज हुने सुविधा तथा घरमै सामान्य विद्युतीय सकेटबाट चार्ज गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । साथै मोबाइल अनुप्रयोग, मार्गनिर्देशन, सवारीको अवस्थाबारे जानकारी, कल तथा सन्देश सूचना र स्वचालित सफ्टवेयर अद्यावधिकजस्ता सुविधा पनि समावेश गरिएको छ।

    त्यसै गरी डर्ट–ई के–३ विद्युतीय अफ–रोड मोटरसाइकल विशेष गरी किशोर तथा युवा राइडरलाई लक्षित गरी विकास गरिएको हो । यसमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार समायोजन गर्न सकिने संरचना, अभिभावकले मोबाइल अनुप्रयोगमार्फत गति नियन्त्रण गर्न सक्ने सुविधा तथा तीनवटा फरक गतिका विकल्प उपलब्ध छन् । उत्कृष्ट डिजाइन र नवीन प्रविधिका कारण यसले अन्तर्राष्ट्रिय डिजाइन तथा नवप्रवर्तनसम्बन्धी प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

    हिरो मोटोकर्पको उदीयमान विद्युतीय व्यवसाय एकाइकी प्रमुख व्यवसाय अधिकृत कौशल्या नन्दकुमारले नेपालबाट भिडाको अन्तर्राष्ट्रिय विस्तार सुरु हुनु कम्पनीका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले नेपाल विद्युतीय सवारीका लागि महत्वपूर्ण बजार भएकाले नेपाली उपभोक्तालाई गुणस्तरीय र भरपर्दो उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल हरित यातायाततर्फ अघि बढिरहेका बेला भिडाको आगमनले विद्युतीय सवारीको प्रयोगलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो । हिरो मोटोकर्पसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै दिगो र वातावरणमैत्री यातायात प्रणालीको विकासमा योगदान पुर्याउने उहाँले बताउनुभयो ।

    सन् २०१४ देखि नेपाली बजारमा सक्रिय हिरो मोटोकर्पले भिडा ब्राण्डमार्फत स्मार्ट, आधुनिक र दिगो विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार सवारीको दूरी, गति र चार्ज हुने समय परीक्षणका आधारमा निर्धारण गरिएको भए पनि वास्तविक प्रयोगमा सडक, मौसम र अन्य अवस्थाअनुसार फरक पर्न सक्छ ।