सोमवार , श्रावण ११, २०८३
भैरहवा, ११ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया नाकामा नवनिर्मित सार्वजनिक शौचालय तथा वाटर एटिएमको उद्घाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाइ कार्यालयको आयोजना र बेलहिया गाउँ समाजको समन्वयमा उक्त पूर्वाधारको निर्माण सम्पन्न भएको हो । खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश के.सी.ले आइतबार सिद्धार्थनगर नगरपालिकालाई उक्त आयोजनाको स्वामीत्व औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले नवनिर्मित पूर्वाधारको उद्घाटन गर्नुभयो । उहाँले सिद्धार्थनगर नगरपालिकासँगको समन्वयमा करिब २२ करोड बराबरको बजेट ल्याइएको जानकारी दिनुभयो । मन्त्री पाण्डेयले क्षेत्रको समग्र विकास कुनै एकजनाको प्रयासले मात्र सम्भव नहुने भएकाले सामूहिक जिम्मेवारी र सहकार्यको खाँचो औंल्याउनुभयो ।
मन्त्री पाण्डेयले बेलहिया नाकालाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन स्थानीय समाजको ठूलो योगदान रहेको बताउनुभयो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरको प्रमुख प्रवेशद्वार बेलहियामा निर्माण गरिएको आधुनिक सार्वजनिक शौचालय र वाटर एटीएमले नगरको सेवा प्रवाहमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले हस्तान्तरणपछि नगरपालिकाले यसको नियमित सञ्चालन, मर्मत–सम्भार र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख खाँले सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीयवासी, व्यवसायी र सरोकारवालाको समान जिम्मेवारी रहने उल्लेख गर्नुभयो ।
खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश के.सी.का अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सुरु भएको यो आयोजना आ.व. २०८२/०८३ मा सम्पन्न भएको हो । कुल ६५ लाख ९ हजार ७ सय ७० रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ५५ लाख ९४ हजार ६१० रुपैयाँ खर्च भएको छ भने २ लाख १ हजार २० दशमलव ५६ रुपैयाँ बराबरको जनश्रमदान भएको छ ।
नवनिर्मित सार्वजनिक शौचालय अपांगमैत्री तथा पूर्ण रूपमा प्रविधियुक्त रहेको छ । यस पूर्वाधारभित्र पुरुषका लागि ४ वटा शौचालय, ५ वटा युरिनल र महिलाका लागि ३ वटा शौचालय, १ वटा बाथरुम तथा विशेष रूपमा ‘प्याड एटिएम’ को व्यवस्था गरिएको छ । साथै ४ वटा वास बेसिन र २ हजार लिटर क्षमताका तीनवटा पानीका ट्यांकी राखिएका छन् ।
नाकामा सञ्चालनमा आएको सार्वजनिक शौचालय र शुद्ध पिउने पानीका लागि वाटर एटीएमले दैनिक रूपमा नाकाबाट ओहोरदोहोर गर्ने हजारौं सर्वसाधारण, यात्रु तथा विदेशी पर्यटकहरूलाई सरसफाई र खानेपानीमा ठूलो राहत पुर्याउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij