२०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

मानव जीवनको रक्षा र मानव जगतको विकास प्रमुख लक्ष्य : मेयर पाण्डेय

सोमवार , श्रावण ११, २०८३

  • 85
    Shares
  • 85
    Shares
  • बुटवल, ११ साउन । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले मानव जीवनको रक्षा, मानवीय भावनाको कदर र मानव जगतको विकास नै सरकारको प्रमुख लक्ष्य बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ति, महामारी र भोखमरी जस्ता प्रकोप लगायतका संकटबाट नागरिकको रक्षा गर्नु तीनै तहका सरकारको प्रमुख दायित्व रहेको उल्लेख गर्नुभयो। उहाँले मानव जीवनको रक्षासहितको शिक्षा, स्वास्थ्य र रोजगारसहितको सामाजिक विकासबाट नै वास्तविक समृद्धि प्राप्त हुने बताउनुभयो ।

    बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरको पहिरोग्रस्त क्षेत्रमा बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले ज्योतिनगर, मिलन टोल, पासाङ्ग टोल र लक्ष्मीनगरको पहिरो नियन्त्रणका लागि आफुले हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । उहाँले संघ र प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी गराउनुभयो । उहाँले पहिरो नियन्त्रण र बस्ती संरक्षणका लागि वृक्षारोपण लगायतमा स्थानीयको सहभागीता पनि प्रभावकारी ढंगले हुनुपर्ने बताउनुभयो ।

    उपप्रमुख सावित्रा देवी अर्यालले ज्योतिनगरबासीका लागि अभिसाप बनेको यो पहिरो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

    वडाध्यक्ष विष्णु ढकालले वर्षायाममा रातभर जाग्ने स्थानीयहरु अहिले पनि ढुक्कसँग निदाउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । हरिशयनी एकादशीको अवसरमा यहाँ विभिन्न जातका ५ हजारभन्दा बढी बिरुवाहरु रोपिएको वडा सदस्य हरि नारायण मिश्रले बताउनुभयो ।