२०८३, भाद्र २६ गते

Sep 11 2026 | २०८३, भाद्र २६ गते

रोटरी मणिग्रामद्वारा जनभावना विद्यालयमा वृक्षारोपण

सोमवार , श्रावण ११, २०८३

  • 871
    Shares
  • 871
    Shares
  • भैरहवा, ११ साउन । रोटरी क्लब अफ मणिग्राम र रोट्रयाक्ट क्लब अफ मणिग्रामको संयुक्त आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–८, दीप नगरस्थित जनभावना स्कुलको प्रांगणमा बिरुवा रोपिएको छ । 

    विद्यालय व्यवस्थापनको आवश्यकता तथा मागलाई ध्यानमा राखी विद्यालयले अनुरोध गरेअनुसार वृक्षारोपण गरिएको हो । आँपका २५ वटा, बेलौतीका १० वटा, अमलाका १० वटा, अशोकका २० वटा, तेजपातका ६ वटा, कल्की फूलका १५ वटा, निमका २ वटा, बेलका २ वटा र जामुनका ५ वटा गरी विभिन्न प्रजातिका गरी १ सय वटा बिरुवा रोपिएको क्लबले जनाएको छ । 

    वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड, कोहलपुरका प्रमुख मुक्ति पाण्डेय एवं निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) रुपन्देहीका अध्यक्ष दीपक खनाल, तिलोत्तमा नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद पौड्याल तथा जनभावना स्कुलका प्रधानाध्यापक शम्भुप्रसाद पराजुलीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

    कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष कृष्ण भण्डारीले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको संयोजन रोटरी क्लब अफ मणिग्रामका कोषाध्यक्ष रोशन कंडेलले गर्नुभएको थियो । कार्यक्रममा रोट्याक्ट क्लब अफ मणिग्रामका अध्यक्ष सिराज गैरेलगायत रोट्रयाक्ट क्लबका सदस्यहरूको सहभागीता थियो ।

    कार्यक्रममा सहभागीहरूले वृक्षारोपण केवल विरुवा रोप्ने कार्यक्रम मात्र नभइ वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा भावी पुस्ताका लागि स्वच्छ र हरियाली वातावरण निर्माण गर्ने महत्वपूर्ण अभियान भएको बताएका थिए । विद्यालय परिसरमा रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा विद्यालय व्यवस्थापन, शिक्षक तथा विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहनेमा समेत जोड दिइएको थियो ।