२०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

रकम असुल्न प्रयास गर्ने व्यक्ति नक्कली रिभल्भरसहित पक्राउ

शनिवार , श्रावण ९, २०८३

  • 163
    Shares
  • 163
    Shares
  • भैरहवा, ९ साउन । आफूलाई सादा पोशाकको प्रहरी (घुमुवा) बताउँदै पैसा असुल्न प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् । घुमुवा प्रहरी भन्दै नक्कली रिभल्वर देखाएर सर्वसाधारणसँग रकम मागेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३, शान्तिनगरबाट एकजनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भइ हाल ओमसतिया गाउँपालिका–४, बालापुरमा कोठा भाडामा लिएर बसिरहेका ४९ वर्षिय राकेश प्रताप राणा रहेका छन् । साउन ८ गते साँझ भैरहवा बजार क्षेत्रमा राणाले आफू जिल्ला प्रहरी कार्यालयकोे घुमुवा हुँ भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको थियो ।

    सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो । उनको शरीर तथा डेरा कोठा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको नक्कली रिभल्वर एक थान, सवारीचालक अनुमतिपत्र एक थान, लागूऔषध (गाँजा) ५ सय ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान तथा नेपाली नगद २ हजार ६ सय बरामद गरिएको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताए ।