२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

ट्राफिक व्यवस्थापनमा ‘पहिला तिमी’ भन्ने संस्कार आवश्यक : राजेश हमाल

शुक्रवार , श्रावण ८, २०८३

  • 196
    Shares
  • 196
    Shares
  • काठमाडौँ,  ८ साउन । महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । 

    शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सडक व्यवस्थापन प्रहरीको मात्र नभई आम नागरिकको पनि साझा जिम्मेवारी भएको बताउनुभएको हो । हमालले समयसँगै सवारी साधनको सङ्ख्यामा अत्यधिक वृद्धि भएपनि सोही अनुपातमा भौतिक पूर्वाधारको विकास हुन नसकेको प्रति चासो व्यक्त गर्नुभयो ।

    समयसापेक्ष पूर्वाधार निर्माण र आधुनिक प्रविधिको प्रयोग गर्नसके सडक व्यवस्थापन अझ बढी व्यवस्थित र सुचारु हुने उहाँको भनाइ छ । ट्राफिक प्रहरीको कार्यकुशलताको कदर गर्दै उहाँले नागरिकहरूले पनि आफ्नो जिम्मेवारी उत्तिकै गम्भीरताका साथ वहन गर्नुपर्ने बताउनु भयो ।

    सडकमा देखिने अत्यधिक हतारो र ‘छाडा’ प्रवृत्तिको चर्चा गर्दै हमालले सवारी चालक र पैदल यात्रीको मनोविज्ञानमा परिवर्तन आउनु जरुरी रहेको बताउनु भयो । उहाँले सबैले एकैपटक हतार गर्दा सडक झन् भद्रगोल हुने र जाम बढ्ने यथार्थलाई बुझेर पहिला म नभइ पहिला तिमी भन्ने संस्कार जरुरी रहेको बताउनु भयो ।

    सडक विस्तार मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै उहाँले चुस्त व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । कतिपय विकसित मुलुकमा नेपालको भन्दा साँघुरा सडक भएपनि प्रभावकारी व्यवस्थापनका कारण सवारी आवागमन सहज रहेको उदाहरण दिँदै हमालले काठमाडौंको सन्दर्भमा म्यानेजमेन्टलाई दुरुस्त बनाउन सुझाव दिनुभयो । 

    हमालले भन्नुभयो, ‘समयसँगै सवारीसाधनको चाप अत्यधिक बढेको छ । मोटरसाइकल तथा अन्य सवारीसाधनको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । तर त्यसअनुसार सडक तथा अन्य पूर्वाधार निर्माण हुन नसक्दा व्यवस्थापनमा चुनौती देखिएको छ ।

    त्यसैले समयसापेक्ष पूर्वाधार विकास र आधुनिक प्रविधिको प्रयोग गर्न सकिए सडक व्यवस्थापन अझ प्रभावकारी बन्ने थियो । ट्राफिक प्रहरीहरूले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनुभएकोमा म उहाँहरूको प्रशंसा गर्न चाहन्छु ।

    तर ट्राफिक व्यवस्थापन सफल बनाउन प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन । प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्छ । नागरिक र ट्राफिक प्रहरीबीचको सहकार्यबाट मात्रै ट्राफिक व्यवस्थापन सुचारु रूपमा सञ्चालन हुनसक्छ । त्यसैले नागरिकहरूलाई नियम पालना गर्न र ट्राफिक प्रहरीलाई नियम–कानून प्रभावकारी ढंगले बुझाएर कार्यान्वयन गराउन म अनुरोध गर्न चाहन्छु ।

    आज मेट्रो ट्राफिक एफएमको यस कार्यक्रममा नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच राम्रो समन्वय कायम होस् भन्ने शुभकामना व्यक्त गर्दछु । हामी सडकमा प्रायः सबैलाई हतारमा देख्छौँ । यदि पहिला म भन्ने सोचको सट्टा पहिला तपाईं भन्ने संस्कार विकास गर्न सक्यौँ भने ट्राफिक व्यवस्थापन धेरै सहज हुनसक्छ ।

    यो केवल अर्को व्यक्तिलाई प्राथमिकता दिने कुरा होइन, पालो सबैको आउँछ । सबैले एकैपटक अघि बढ्न खोज्दा जाम बढ्छ, तर पालमा नेपालभन्दा साँघुरा सडकमा पनि सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन् । यसको मुख्य कारण प्रभावकारी व्यवस्थापन हो । त्यसैले ट्राफिक व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सक्षमैपालो अघि बढ्दा सडक स्वतः व्यवस्थित हुन्छ ।

    सडक व्यवस्थापनका लागि सडक चौडा बनाउनु मात्र समाधान होइन । विश्वका धेरै देशमा नेपालभन्दा साँघुरा सडकमा पनि सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन् । यसको मुख्य कारण प्रभावकारी व्यवस्थापन हो । त्यसैले ट्राफिक व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सक्षम र चुस्त व्यवस्थापन नै हो ।

    सडक व्यवस्थापन ट्राफिक प्रहरीको मात्र जिम्मेवारी होइन; यो हामी सबैको साझा दायित्व हो । सबै सरोकारवाला मिलेर नियम पालना गर्दै जिम्मेवार ढंगले सवारी चलाउन सके काठमाडौंसहित देशभरको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी बन्न सक्छ । यसबाट ट्राफिक प्रहरी मात्र होइन, सडक प्रयोग गर्ने सबै नागरिक लाभान्वित हुन्छन् । नियमको पालना सबैका लागि विन–विन अवस्था हो ।’

    ट्राफिक नियमको पालना गर्नु सबैको हितमा रहेको बताउँदै उहाँले यसलाई ‘विन–विन सिचुएसन’ (दुवै पक्षको जित) का रूपमा व्याख्या गर्नुभयो । नियम पालना गर्दा नागरिक र प्रहरी दुवैको समय वचत हुने र सुरक्षा सुनिश्चित हुने उहाँको तर्क छ ।

    समाजका हरेक तह र तप्काले हातेमालो गरेर मात्र काठमाडौंको ट्राफिक व्यवस्थापनलाई सही दिशा दिन सकिने भन्दै उहाँले सबै सरोकारवालालाई मर्यादित हुन आग्रह गर्नुभयो ।