शुक्रवार , श्रावण ८, २०८३
भैरहवा, ८ साउन । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ स्थित तुनिडिहवाका समाजसेवी रामजित लोधले तीनवटा सामूदायिक विद्यालयका करिब ९ सय जना विद्यार्थी तथा शिक्षकलाई विद्यालय पोशाक वितरण गर्नुभएको छ । आर्थिक अभावका कारण विद्यालय पोशाक बिना अध्ययन गर्न बाध्य रहेका विद्यार्थीहरूको पीडालाई महसुस उहाँले विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको हो ।
लोधले शुद्धोधन गाउँपालिका–६ स्थित श्री गुरौलिया माध्यमिक विद्यालय, वडा नम्बर ७ स्थित श्री जनता माध्यमिक विद्यालय र श्री राधाकृष्ण बाल आधारभूत विद्यालयका सबै विद्यार्थी तथा कार्यरत शिक्षकलाई आफ्नै व्यक्तिगत खर्चमा विद्यालय पोशाक उपलब्ध गराउनुभएको हो ।
पोशाक हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले गाउँका धेरै विद्यार्थी आर्थिक अभावकै कारण विद्यालय पोशाक बिना विद्यालय आउन बाध्य भएको दृश्यले आफूलाई गहिरो रूपमा छोएको बताउनुभयो । ‘कसैसँग सर्ट छ । तर, पाइन्ट छैन, कसैसँग पाइन्ट छ । तर, सर्ट छैन, कतिपयसँग त विद्यालय पोशाक नै थिएन । यस्तो अवस्था देखेपछि चुप लागेर बस्न सकिनँ, ’उनले भने ।
विद्यालय पोशाक उपलब्ध गराउने दायित्व स्थानीय सरकारको भए पनि आवश्यक पहल नदेखिएपछि आफूले कमाएको रकमबाट विद्यार्थीको सहयोग गर्ने निर्णय गरेको उहाँको भनाइ छ । ‘शिक्षाबाट कुनै पनि बालबालिका आर्थिक अभावका कारण वञ्चित हुनुहुँदैन । मैले सकेको सहयोग विद्यालय पोशाकमार्फत गरेको हुँ । अब जुत्ता, टाई, बेल्ट, झोला लगायतका अन्य आवश्यक शैक्षिक सामग्री गाउँपालिका र वडा कार्यालयले व्यवस्थापन गरून् भन्ने मेरो अपेक्षा छ, ’उहाँले भन्नुभयो ।
उहाँले सामूदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी विपन्न परिवारका भएकाले उनीहरूको शिक्षालाई सहज बनाउन स्थानीय सरकारले शिक्षा क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सामूदायिक विद्यालयका विद्यार्थीले पनि निजी विद्यालयका विद्यार्थीसरह सम्मानजनक वातावरणमा अध्ययन गर्ने अधिकार पाउनुपर्ने उहाँको भनाइ छ । ‘शिक्षामा गरिएको सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ नरोकिन् भन्ने मेरो चाहना हो । आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा आफ्नो सामथ्र्यअनुसार योगदानलाई निरन्तरता दिनेछु, ’उहाँले भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीयबासीले समाजसेवी लोधको सहयोगको प्रशंसा गर्दै यसले विपन्न विद्यार्थीमा नयाँ उत्साह, आत्मविश्वास र नियमित विद्यालय आउने प्रेरणा थपिएको उहाँले बताउनुभयो ।
स्थानीयबासीले आर्थिक अभावका कारण शैक्षिक अवसरबाट पछि पर्न सक्ने बालबालिकाको भविष्य उज्यालो बनाउन गरिएको यो अभियानलाई अनुकरणीय सामाजिक योगदानका रूपमा लिएको छ । उनीहरूले यस्ता अभियानमा स्थानीय सरकार, सामाजिक संघ–संस्था तथा अन्य सक्षम व्यक्तिहरू पनि जोडिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij