२०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीद्वारा नवनिर्वाचित केन्द्रीय सदस्यलाई सम्मान

बिहिवार , श्रावण ७, २०८३

  • 301
    Shares
  • 301
    Shares
  • तिलोत्तमा, ७ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीले हालै महासंघको केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित तीनजना सदस्यलाई सम्मान गरेको छ ।  बुधवार तिलोत्तमामा एक कार्यक्रम आयोजना गर्दै सदस्यहरूलाई सम्मान तथा उनीहरूसँग अन्तरक्रिया गरेको हो । 

    महासंघले संस्थाका पूर्वअध्यक्ष कन्हैयालाल कसौधन, पूर्व केन्द्रीय सदस्य वसन्त रोका तथा महिला उद्यमी समितिको वरिष्ठ केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा तिमिल्सिनालाई सम्मान गरेको हो । कार्यक्रममा महासंघ रूपन्देहीको महिला समिति अध्यक्ष सुलोचना नेपालले स्वगत मन्तव्य राख्नुभएको थियो भने महासंघ रुपन्देहीका अध्यक्ष टंकनाथ अधिकारीले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।महासंघका वरिष्ठ उपाध्यक्ष देवानन्द पाण्डेले आफ्नो मन्तव्य राख्दै केन्द्रीय महाधिवेशनको अनुभव बैठकमा राख्नुभएको थियो ।

    त्यस्तै महासंघ रुपन्देहीका सल्लाहकार ज्ञानेन्द्र कसजुले सरकरले ल्याएको कर नीतिका बारेमा बैठकमा जानकारी गराउनुभएको थियो । उहाँले सरकारले ल्याएका सही नीतिको समर्थन तथा गलत नीतिको खुलेर विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा तथा स्वास्थ्यमा लगाएको कर चर्काे जनविरोधसँगै हटाइएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अझै पनि आर्थिक विधेयकमा समेटिएका विषयहरू व्यवसायी तथा जनताको हितविपरीत रहेकाले सरकारले ती बँुदाहरू निःशर्त हटाउनुपर्ने बताउनुभयो ।

    त्यस्तै महासंघ रुपन्देहीका सल्लाहकार तेज कुमार पाठकले आफ्ना अनुभवहरू राख्दै केन्द्रीय सदस्यमा विजयी तीनै जनालाई बधाई दिनुभयो । त्यस्तै महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष ध्रुव कुमार धितालले निर्वाचित सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

    महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा हालै निर्वाचित केन्द्रीय सदस्य कन्हैया लाल कसौधनले सबैको सुझावहरूलाई प्राथमिकतामा राखेर केन्द्रसँग समन्वय गर्ने बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै नवनिर्वाचित केन्द्रिय सदस्य वसन्त रोकाले आफू सेवा उद्देश्यले नै संस्थामा जोडिएको बताउनुभयो । अन्य संघ–संस्थाको तुलनामा महासंघ केही पछाडि परेको हो कि भन्ने भनाइ राख्दै उहाँले संस्थालाई अगाडि ल्याउन जस्तोसुकै भूमिका खेल्ने बताउनुभयो । उहाँले आयात भन्दा निर्यात गर्नेतर्फ साना उद्योगीहरूले पहल गर्नुपर्ने पनि बताउनुभयो ।

    कार्यक्रममा महिला उद्यमी संघ लुम्बिनीको अध्यक्ष सावित्रा टण्डनले घरेलु तथा साना उद्योग महासंघको आवश्यकता र औचित्यका बारेमा प्रकाश पार्नुभयो । उहाँले महासंघ लुम्बिनी प्रदेशको नाम १ नम्बर बनाउन जुनसुकै भूमिका खेल्न पछाडि नपर्ने बताउनुभयो ।

    त्यस्तै नवनिर्वाचित केन्द्रीय सदस्य तथा महिला उद्यमी समितिकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ति शर्मा तिमिल्सिनाले जिल्लाले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो । उहाँले केन्द्रमा रुपन्देही र लुम्बिनीबाट जति प्रतिनिधित्व हुनुपर्ने हो त्यति हुन नसकेको बताउनुभयो । उहाँले आगामी दिनमा केन्द्रमा रहेर महासंघ रुपन्देहीको हितका लागि निरन्तर लागि रहने बताउनुभयो ।

    बैठकमा जिल्ला तथा नगरका अध्यक्षहरू, सदस्यहरू, विभिन्न समितिका अध्यक्ष एवं सदस्यहरूको सहभागीता थियो । कार्यक्रम महासंघ रुपन्देहीका सचिव महादेव अधिकरिले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीका अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।