२०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत

बुधवार , श्रावण ६, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • काठमाडौँ, ६ साउन । काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ ।

    महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण शुरु भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो । भवन निर्माण शुरु भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिनुभयो । उहाँकाअनुसार गत चैत २२ गतेदेखि भवन निर्माणको कार्य शुरु भएको हो ।

    हाल बेसमेन्ट निर्माण सम्पन्न भएर बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । भवनको संरचना निर्माण कार्य तिब्र गतिमा अघि बढाइएकोले तोकिएको समय अगाडी नै निर्माण सक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । २०८४ कार्तिक २२ गतेभित्र भवन निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको उहाँले बताउनु भयो ।

    उहाँकाअनुसार हाल निर्माणस्थलमा ७० जना दक्ष तथा अदक्ष कामदार खटिएका छन् । साथै, प्रोजेक्ट म्यानेजर, साइट सुपरभाइजरलगायत १० जना प्राविधिक जनशक्ति परिचालन गरिएको छ । निर्माणस्थलमा आवश्यक सबै सुरक्षा मापदण्ड र सेफ्टी प्रोटोकल पालना गर्दै काम भइरहेको उहाँले बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाको भवन बनाउन हामीले चैतको २२ गतेबाट प्रोजेक्ट शुरु गरेका हौँ र आजसम्म हाम्रो ९४ दिन भयो, हामीले ३० प्रतिशत फाइनान्सियल प्रोग्रेस र ३५ प्रतिशत फिजिकल प्रोग्रेस गरिसकेका छौँ । २०८४ को कार्तिक २२ गते हाम्रो फाइनल डेट छ, ह्याण्डओभर गर्नुपर्ने र हामी सकभर त्योभन्दा चाँडो नै सक्ने तयारी गरेर त्यो अनुसार काम गरिरहेका छौँ ।

    अहिले हाम्रो स्ट्रक्चरको काम भइरहेको छ, बेसमेन्टको काम सकाएर अहिले बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी गरिरहेका छौँ । हाम्रोमा अहिले स्किल्ड र अनस्किल्ड गरेर ७० जना कामदारले काम गरिराख्नु भएको छ । त्यससँगै हाम्रो १० जना हाम्रो टेक्निकल म्यानपावरहरु छ । प्रोजेक्ट म्यानेजरदेखि लिएर साइट सुपरभाइजरदेखि सबैजना र सबै सेफ्टी प्रोटोकलहरु अपनाएर हामीले साइटमा काम गरिरहेका छौँ ।’

    महानगरको करिव ६ रोपनीको जग्गामा आठ तले प्रशासनिक भवन निर्माण हुँदैछ । उक्त निर्माणाधिण भवनको बुधवार काठमाडौ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन समेत गर्नुभएको छ । उहाँले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभयो ।