२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन

मंगलवार , श्रावण ५, २०८३

  • 856
    Shares
  • 856
    Shares
  • भैरहवा, ५ साउन । आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देहीले आर्थिक वर्ष २०८२/०८३ मा निर्धारित लक्ष्यभन्दा १३ दशलमव ३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले लक्ष्यभन्दा करिब रु. २ अर्ब २३ करोड २९ लाख बढी राजस्व उठाउँदै कुल रु. १९ अर्ब १६ करोड २४ लाख बढी राजस्व संकलन गरेको हो ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षका लागि रु. १६ अर्ब ९२ करोड ९५ लाख बढी राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो । कार्यालयले लक्ष्यको ११३.३ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।

    प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कर प्रशासनलाई प्रविधिमैत्री बनाउने, करदातामैत्री सेवा विस्तार गर्ने, करको दायरा फराकिलो बनाउने तथा नियमित अनुगमनलाई प्रभावकारी बनाएकै कारण लक्ष्यभन्दा बढी राजस्व संकलन सम्भव भएको बताउनुभयो । उहाँले स्वेच्छिक कर सहभागीता बढ्दै जानु र कर प्रशासनप्रतिको विश्वास मजबुत हुनु पनि राजस्व वृद्धिका प्रमुख आधार रहेको उल्लेख गर्नुभयो ।

    कार्यालयका अनुसार आयकरबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ। त्यसपछि मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, बहाल कर र ब्याज कर शीर्षकबाट उल्लेखनीय राजस्व उठेको छ । गत आर्थिक वर्षको तुलनामा अधिकांश शीर्षकमा राजस्व संकलनमा सुधार देखिएको कार्यालयले जनाएको छ ।

    कार्यालय सूचना अधिकारी कर अधिकृत नरेश पन्थीका अनुसार करदातालाई डिजिटल सेवा विस्तार, समयमै कर विवरण बुझाउने अभियान, कर शिक्षा कार्यक्रम तथा नियमित कर परीक्षणका कारण राजस्व संकलनमा सकारात्मक प्रभाव परेको हो । उहाँले चालु आर्थिक वर्षमा पनि कर चुहावट नियन्त्रण, करदातामैत्री सेवा विस्तार तथा राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउने कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

    कार्यालयले चालु आर्थिक वर्ष २०८३/०८४ मा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न कर प्रशासनलाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने रणनीतिअनुसार काम अघि बढाएको जनाएको छ ।