सोमवार , श्रावण ४, २०८३
बुटवल, ४ साउन । बुटवल अटो इन्जिनियरिङ एशोसिएशन, रूपन्देही–लुम्बिनीको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न वृहत् रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा निःशुल्क मधुमेह परीक्षणसमेत गरिएको एशोसिएसनका महासचिव पुनित पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष खडकबहादुर गौतमले विगतको तुलनामा अहिले व्यवसायिक प्रतिष्पर्धा बढेकाले समयअनुकूल सीप, प्रविधि र व्यवसायिक दक्षतामा ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।
एशोसिएशनका अध्यक्ष प्रेम गौचनले स्थापना दिवसका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्दै सबै सदस्य तथा व्यवसायीलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभयो ।
केन्द्रीय पूर्वअध्यक्ष जनार्धन गैरेले चौपारीमा बसेर स्थापना गरिएको संस्था आज देशकै सक्षम र सशक्त संस्थाका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले रक्तदानजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बुटवलमा अटो व्यवसायका लागि छुट्टै र सुरक्षित ‘अटोल्यान्ड’ क्षेत्र निर्माण हुनु संस्थाका लागि थप उपलब्धी भएको बताउनुभयो ।
सल्लाहकार प्रेमबहादुर फौदारले संस्थाको ३१ वर्षे यात्रा संघर्षपूर्ण रहेको स्मरण गर्दै प्रारम्भिक चरणमा मैनाबगरबाट अटो व्यवसाय सञ्चालन गरिएको अनुभव सुनाउनुभयो ।
सल्लाहकार भोजबहादुर बुढाथोकीले प्रविधिको विकाससँगै व्यवसायीले आफूलाई पनि समयानुकूल परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो। अर्का सल्लाहकार सन्तोष पाण्डेले व्यवसायीबीचको एकताले संस्थालाई थप बलियो बनाउने उल्लेख गर्नुभयो । उहाँले प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो । सल्लाहकार टंक गैरेले संस्थाको इतिहासलाई सम्मान गर्दै समयअनुकूल परिवर्तनसहित अघि बढ्न कार्यसमितिलाई आग्रह गर्नुभयो ।
कार्यक्रम संयोजक तथा उद्योग उपाध्यक्ष ध्रुवराज भुसालले रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।
एशोसिएशनले स्थापना दिवसको पहिलो दिन बुटवल–२, मैनाबगरस्थित अटो भिलेज परिसरमा सरसफाइ तथा डस्टबीन वितरण कार्यक्रम सम्पन्न गरेको थियो ।
स्थापना दिवसका बाँकी कार्यक्रमअन्तर्गत साउन ६ गते वृक्षारोपण, ८ गते ब्याडमिन्टन प्रतियोगिता, ९ गते फुटसल प्रतियोगिता तथा १३ गते समापन एवं पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने एशोसिएशनले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij