शुक्रवार , जेठ २९, २०८३
रूपन्देही, २९ जेठ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङले शान्ति सुरक्षा, साइबर सचेतना र सामुदायिक सहभागीता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
रुपन्देहीको बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले आधुनिक सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत् समुदायलाई सचेत बनाउँदै शान्ति, सुरक्षा र सामाजिक सद्भाव प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा ‘ह्याक फर सेफ्टी’ कार्यक्रम, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सामुदायिक जागरण कार्यक्रम तथा बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा आयोजना गरिनेछ ।
डीआईजी खत्रीले सार्वजनिक सुरक्षासामु देखिएका नयाँ चुनौतीसँग सामना गर्न सूचना प्रविधिको उपयोग अपरिहार्य बन्दै गएको बताउनुभयो ।
उहाँले ‘ह्याक फर सेफ्टी’ कार्यक्रममार्फत युवा, विद्यार्थी, डेभलपर तथा नवप्रवर्तनकर्तालाई साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग र प्रहरी सेवासँग सम्बन्धित समस्या समाधानका नवीन उपाय विकास गर्न प्रेरित गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने शान्ति पदयात्राले शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्ने बताउनुभयो । ‘यसरी हेर्दा तीनवटै कार्यक्रम फरक देखिए पनि उद्देश्य एउटै छ सुरक्षित, सचेत, जिम्मेवार र प्रविधिमैत्री समाज निर्माण गर्नु, ’उहाँले भन्नुभयो ।
प्रदेश प्रहरीका अनुसार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुने सामुदायिक जागरण कार्यक्रममा साइबर अपराध, लागुऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा तथा सामाजिक विकृतिविरुद्ध सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ ।
यही जेठ ३० गते सुरु भइ असार १ गते सम्पन्न हुने तीनदिने विशेष अभियानमा व्यापक जनसहभागीता रहने र यसबाट प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij